पर्सा । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजेश सहनी सर्वसम्मत रूपमा चयन भएका छन्। लामो समयदेखि व्यवस्थापन समिति विहीन रहेको विद्यालयमा नयाँ नेतृत्व चयन भएपछि शैक्षिक सुधारप्रति आशा बढेको छ।
नवगठित समितिमा रामनाथ साह तेली, राजकुमार सहनी, सोभी देवी, सन्ध्या चौहान र माला कुमारी गोढ सदस्य रहेका छन्। समावेशी संरचनासहित गठन भएको समितिले विद्यालयको शैक्षिक गुणस्तर, सुशासन र पूर्वाधार विकासलाई प्राथमिकता दिने जनाएको छ।
पदभार ग्रहण गर्दै अध्यक्ष सहनीले शिक्षक–विद्यार्थीको हकहित संरक्षण, गुणस्तरीय शिक्षा र सामुदायिक सहभागिता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व तथा समुदायका अगुवाहरूले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।
स्थानीय जनसमुदायले नयाँ व्यवस्थापन समितिबाट विद्यालयको शैक्षिक स्तर उकासिने र दीर्घकालीन सुधारका ठोस पहल हुने अपेक्षा गरेका छन्।