वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकास्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा कानुन विपरित कार्य भएको भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय निर्मला पौडेल भट्टराई र राजेन्द्र अधिकारीको संयुक्त इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म समितिको कुनै पनि काम अघि नबढाउन विपक्षीका नाममा आदेश दिएको हो।
शिक्षा ऐन, २०२८ अनुसार अभिभावकहरूमध्येबाट दुई महिलासहित चार जना सदस्य छनोट गर्नुपर्ने प्रावधान रहे पनि विद्यालयले गरेको छनोट प्रक्रियामा प्रक्रियागत त्रुटि र नामहरूमा भिन्नता देखिएपछि अदालतले यस्तो कदम चालेको हो। अदालतमा पेश गरिएको प्रतिलिपि अनुसार २०८२ पुस १३ गतेको भेलाले रामनाथ प्रसाद साह तेली, राजेश सहनी र सोमी देवीलाई सदस्य छनोट गरेको देखिएको थियो। तर, विद्यालयको माइन्युटमा अन्य व्यक्तिको नाम समेत थपिएको र छनोट प्रक्रिया अपूर्ण रहेको पाइएपछि विवाद सिर्जना भएको थियो।
अदालतले 'सुविधा र सन्तुलन' को आधारमा रिट निवेदनको किनारा नलागेसम्म २०८२ पुस १३ गतेको निर्णयका आधारमा बाँकी सदस्य र अध्यक्षको छनोट नगर्न तथा सदस्यको हैसियतमा कुनै पनि कार्य नगर्न र नगराउन उच्च अदालत नियमावली २०७३ बमोजिम रोक लगाएको छ। साथै, यो विषय सार्वजनिक महत्त्व र विद्यालयको व्यवस्थापनसँग जोडिएकाले मुद्दालाई अग्राधिकार दिई छिटो निरुपण गर्न समेत आदेशमा भनिएको छ।
यस मुद्दामा निवेदक जितेन्द्र प्रसाद चौहानको तर्फबाट अधिवक्ता बीरेन्द्र प्रसाद यादवले बहस गर्नुभएको थियो भने विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईसहितको टोलीले प्रतिरक्षा गरेको थियो।