पर्सा । नेकपा एमालेबाट पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुपेश पाण्डेलाई विजयी गराउन पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रमोद जैसवाल सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन्। जैसवालले पार्टीको नीति, कार्यक्रम र विकासका उपलब्धिहरूलाई जनस्तरसम्म पुर्याउँदै एमालेको पक्षमा जनसमर्थन जुटाउन तीव्र अभियान सञ्चालन गरिरहेका छन्।
चुनावी अभियानका क्रममा बोल्दै नेता जैसवालले रुपेश पाण्डे सक्षम, इमानदार र जनताको हितमा काम गर्न प्रतिबद्ध उम्मेदवार भएको बताएका छन्। उनले पाण्डेको उम्मेदवारीले पर्सा क्षेत्र नं. ३ को विकास, समृद्धि र स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले जनताको विश्वास र समर्थनले एमाले अझ मजबुत हुँदै जाने उल्लेख गरे।
जैसवालले नेकपा एमालेले मुलुकको विकास र जनकल्याणका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै पार्टीको नेतृत्वमा देशले राजनीतिक स्थिरता, आर्थिक विकास र पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले एमाले सरकारले देशभर सडक सञ्जाल विस्तार, पुल निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सामाजिक सुरक्षा भत्ता वृद्धि तथा गरिबी न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको स्मरण गराए।
त्यसैगरी उनले एमालेले कृषक, मजदुर, युवा र महिला लक्षित विभिन्न कार्यक्रम ल्याएर स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। जनताको जीवनस्तर उकास्ने उद्देश्यले एमालेले दीर्घकालीन विकास योजनाहरू कार्यान्वयन गर्दै आएको उनले बताए।
नेता जैसवालले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डेलाई भारी मतले विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गर्दै एमालेको नेतृत्वमा मात्रै पर्सा क्षेत्र नं. ३ को समग्र विकास सम्भव हुने दाबी गरे। उनले विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिन एमालेको विकल्प नरहेको धारणा व्यक्त गरे।