वीरगंज । आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र भएको छ। नेकपा एमालेका उम्मेदवार रुपेश पाण्डेलाई विजयी गराउन अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषाद पूर्ण रूपमा मैदानमा उत्रिएका छन्।
अध्यक्ष निषाद यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन्। उनी एक स्थापित राजनीतिक विरासत बोकेका व्यक्तित्व हुन्; उनका बुवा र हजुरबुवा दुवै पूर्वमन्त्री रहिसकेका कारण स्थानीय जनतामा उनको गहिरो पकड र सम्मान रहेको छ। आफ्नै गृहक्षेत्र भएकाले पनि निषादले पाण्डेको पक्षमा जनलहर सिर्जना गर्न अहोरात्र खटिएर चुनावी अभियानलाई उचाइ दिइरहेका छन्।
चुनावी घरदैलो र कोणसभाहरूलाई सम्बोधन गर्दै अध्यक्ष निषादले यसपटक पर्सा ३ का जनताले परिवर्तन चाहेको बताएका छन्। उनले विगतमा पटक-पटक नेपाली कांग्रेसबाट सांसद र मन्त्री बनेका सुरेन्द्र चौधरीको चर्को आलोचना समेत गरे।
"कांग्रेसका नेताहरूले पटक-पटक अवसर पाएर मन्त्री बन्दा समेत यस क्षेत्रको विकासका लागि ठोस काम गर्न सकेनन्," निषादले भने, "अबको निकास नेकपा एमालेबाट मात्र सम्भव छ। त्यसैले रुपेश पाण्डेलाई जिताउनु यस क्षेत्रको विकासका लागि अपरिहार्य छ।"
अध्यक्ष निषादले कुनै कसर बाँकी नराखी पाण्डेलाई जिताउन संगठन र आफ्नो व्यक्तिगत प्रभाव परिचालन गरेको बताएका छन्। विकासप्रेमी र युवा उम्मेदवार भएकाले रुपेश पाण्डेप्रति जनताको आकर्षण बढेको र एमालेको जित सुनिश्चित रहेको उनको दाबी छ।