वीरगञ्ज | मुलुकको आर्थिक राजधानी वीरगञ्ज र आसपासका ग्रामीण भेगमा यतिबेला वसन्तको बहारसँगै चुनावको तातो हावा बग्न थालेको छ। फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्साका चारवटै निर्वाचन क्षेत्रमा चुनावी 'कुरुक्षेत्र' तयार भएको छ। तर, यसपटकको दृश्य विगतको भन्दा फरक छ— मतदाताका हातमा चुनावी पर्चा मात्र छैन, उम्मेदवारका विगतका 'काण्ड' र 'काम'को लामो फेहरिस्त पनि छ।
विशेषगरी तीन प्रभावशाली पूर्वमन्त्रीहरूका लागि यो चुनाव आफ्नो राजनीतिक अस्तित्व बचाउने कठिन परीक्षा साबित हुँदैछ।
१. प्रदीप यादव: एमालेको 'टिका', मधेसको 'अग्निपरीक्षा'
पर्सा क्षेत्र नम्बर १ मा चर्चाको केन्द्रमा छन्, पूर्वमन्त्री प्रदीप यादव। हिजोसम्म केपी शर्मा ओली र नेकपा एमालेको कट्टर आलोचक रहेका यादव अहिले त्यही दलको सूर्य चिह्न लिएर मैदानमा छन्। जसपा नेपाल परित्याग गरी रातारात एमाले प्रवेश गरेका यादवलाई मतदाताले 'अवसरवादी' को ट्याग भिराएका छन्।
चुनौती: वन र स्वास्थ्य मन्त्रालय सम्हाल्दा लागेका भ्रष्टाचारका आरोप र दल परिवर्तनको नैतिक प्रश्न।
प्रतिस्पर्धा: कांग्रेसका प्रभावशाली व्यवसायी अनिल रुँगटा र रास्वपाका बुद्धिप्रसाद पन्तसँगको त्रिपक्षीय भिडन्तले यादवलाई रक्षात्मक बनाएको छ।
२. अजय चौरसिया: 'टुरिष्ट' उम्मेदवार र न्यायलय हस्तक्षेपको छाया
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अजय कुमार चौरसिया चुनावी दबाबमा छन्। क्षेत्र नम्बर ३ मा घर भएका चौरसियालाई स्थानीयले 'टुरिष्ट उम्मेदवार' भन्न थालेका छन्। अघिल्लो कार्यकालमा कानुनमन्त्री रहँदा न्यायाधीश नियुक्ति र मुद्दा फैसलामा हस्तक्षेप गरेको गम्भीर आरोप उनीमाथि छ।
मुख्य प्रश्न: "मुद्दा मिलाउन न्यायाधीशलाई फोन घुमाउने मन्त्रीले जनताको काम कहिले गर्छन्?" भन्दै मतदाताले प्रश्न गर्न थालेका छन्।
अवस्था: कांग्रेसी गढ मानिए पनि आन्तरिक गुटबन्दी र 'गेटावे' उम्मेदवारको आरोपले उनको बाटो असहज देखिन्छ।
३. रमेश रिजाल: 'विद्युत' र 'विद्युतीय व्यापार' नचिन्ने मन्त्रीको छैटौँ दौड
क्षेत्र नम्बर ४ का सदावहार उम्मेदवार रमेश रिजाल सातौँ पटक चुनावी प्रतिष्पर्धामा छन्। ६ दशकको राजनीति गरेका रिजाललाई यसपटक आफ्नै कार्यक्षमताले गिज्याइरहेको छ। उद्योगमन्त्री रहँदा 'विद्युतीय व्यापार विधेयक' (E-commerce) माथि छलफल हुँदा 'बिजुली बत्ती'को जवाफ दिएर संसदमा हाँसोको पात्र बनेको भिडियो अहिले विपक्षीको चुनावी अस्त्र बनेको छ।
मतदाताको गुनासो: ६ दशक राजनीति र पटक-पटक सत्तामा पुगे पनि जिल्लाका लागि ठोस काम नगरेको आरोप।
विरासतको संकट: पुराना नेताको सम्मान यथावत रहे पनि युवा पुस्ता (Gen Z) उनीप्रति आकर्षित देखिँदैनन्।
यसपटकको चुनावमा पर्सामा 'आर्टिफिसियल इन्टेलिजेन्स' (AI) को नकारात्मक प्रयोग टाउको दुखाइ बनेको छ। उम्मेदवारका विरुद्ध फेक अडियो र भिडियो बनाएर सामाजिक सञ्जालमा 'मिडिया ट्रायल' गर्ने लहर चलेको छ। तर, मतदाता भने पुरानो पार्टी र 'सदावहार' उम्मेदवारभन्दा नयाँ अनुहारप्रति बढी चासो देखाइरहेका छन्।