वीरगञ्ज | पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पूर्वमन्त्री प्रदीप यादवको राजनीतिक भूमिकामाथि व्यापक बहस सुरु भएको छ। लामो समयसम्म नेकपा एमाले र यसको नेतृत्वको कडा आलोचना गर्दै आएका यादव अचानक दल परिवर्तन गरेर एमालेबाट उम्मेदवार बनेपछि मतदाताबीच उनको राजनीतिक विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यादवको दल परिवर्तनलाई धेरै मतदाताले सिद्धान्तभन्दा पद र अवसरसँग जोडेर हेर्न थालेका छन्।
जसपा नेपालबाट निर्वाचित भएर मन्त्रीसमेत बनेका यादवले छोटो अवधिमै दल त्याग गरी एमाले प्रवेश गर्नुले उनको राजनीतिक स्थायित्वमाथि प्रश्न खडा गरेको बताइन्छ।यादव वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय सम्हाल्दा विभिन्न विवादमा तानिएको आरोप पनि सार्वजनिक रूपमा उठ्ने गरेको छ। मन्त्रालय सम्हाल्ने क्रममा भएका केही निर्णय र कार्यक्रम सञ्चालन प्रक्रियामाथि पारदर्शिताको अभाव रहेको भन्दै आलोचना हुँदै आएको छ। यद्यपि ती आरोपहरूबारे औपचारिक रूपमा अदालतबाट ठोस फैसला भने भएको छैन।
यसपटकको निर्वाचनमा यादवले बलियो प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ। नेपाली कांग्रेसबाट उद्योगी अनिल रुँगटा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरी पन्त मैदानमा उत्रिएपछि निर्वाचन क्षेत्र त्रिपक्षीय प्रतिस्पर्धामा परिणत भएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस प्रतिस्पर्धाले यादवलाई रक्षात्मक रणनीति अपनाउन बाध्य बनाएको छ।
स्थानीय मतदाताहरूबीच विकास, पारदर्शिता र स्थिर नेतृत्वको विषय प्रमुख एजेन्डा बनेको छ। कतिपय मतदाताले यादवको राजनीतिक यात्रामा देखिएको अस्थिरता र विगतका विवादले भविष्यमा नेतृत्व क्षमतामाथि असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।निर्वाचन नजिकिँदै गर्दा प्रदीप यादवले मतदाताको विश्वास जित्न आफ्नो विगतका आरोप र राजनीतिक निर्णयबारे स्पष्ट धारणा प्रस्तुत गर्नुपर्ने दबाब बढ्दै गएको देखिन्छ।