वीरगन्ज । अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश निषादले नेकपा एमालेको नेतृत्वमा देशमा उल्लेखनीय विकास भएको दाबी गरेका छन्। उनले उक्त विकासलाई देख्न नसकेर देशी तथा विदेशी शक्तिहरूको मिलेमतोमा सरकार ढालिएको आरोप समेत लगाए।
पर्साको बहुदरमाई नगरपालिकामा आयोजित चुनावी प्रचार सभालाई सम्बोधन गर्दै निषादले एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा तथा पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको बताए। उनका अनुसार एमाले सरकारले वृद्धभत्ता, एकल महिला भत्ता विस्तार गरेको, ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माणको अवधारणा अघि बढाएको, भूकम्पपछिको पुनर्निर्माण कार्य सम्पन्न गरेको तथा ऐतिहासिक धराहरा पुनःनिर्माण गरेको उल्लेख गरे।
निषादले देशमा भइरहेको विकास र स्थायित्व देख्न नसकेर विदेशी शक्तिहरू सक्रिय भएको आरोप लगाउँदै अमेरिकी प्रभावमा नेपाली नागरिक तथा विद्यार्थीलाई प्रयोग गरी भदौ २३ र २४ गते आन्दोलन गराइएको दाबी गरे।
कार्यक्रममा उनले देशको समग्र विकासका लागि नेकपा एमाले नै उपयुक्त विकल्प भएको जिकिर गर्दै पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेलाई विजयी गराउन मतदातासँग आग्रह गरे।
चुनावी सभामा सहभागी अन्य वक्ताहरूले पनि एमालेले अघि सारेका विकास योजना तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिन पार्टीलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरेका थिए।