पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले आफूलाई ‘जेन्जी नेता’ भन्दै चुनावी प्रचार तीव्र पारेकी छन्। तर उनको यो दाबी स्थानीयस्तरमै विवादित बन्दै गएको छ र यसले एमालेको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा नेकपा एमालेका पार्टी कार्यालयमा आगजनी, तोडफोड हुनुका साथै कैयौँ नेताहरूको घरसमेत ध्वस्त भएको घटना जनतामाझ अझै ताजा छ।
तर अहिले सोही पार्टीकी उम्मेदवार यादवले आफूलाई जेन्जी नेताको रूपमा प्रस्तुत गर्दै घरदैलो अभियानमा उत्रिनुले यो प्रचार केवल राजनीतिक अवसरवाद हो कि भन्ने बहस चर्किएको छ। स्थानीय मतदाताहरू भन्छन्—आन्दोलन दबाउने शक्ति र आन्दोलनको नेतृत्व दाबी एउटै व्यक्तिमा कसरी सम्भव हुन्छ ?
विश्लेषकहरूका अनुसार यो रणनीति आन्दोलनको वास्तविक पीडा भोगेका नागरिकको भावनामाथि खेल्ने प्रयास हो।
यो ‘जेन्जी नेता’ ब्रान्डिङ वास्तवमा जनतालाई भावनात्मक रूपमा गुमराहमा पार्ने रणनीति हो। आन्दोलनको नाम भोटका लागि, पीडाको कथा सत्ता चढ्नका लागि। यस्तो राजनीति न क्रान्तिकारी हुन्छ, न नै नैतिक।
स्थानीय राजनीतिक वृत्तमा यादवले आफ्नै पार्टीले भोगेका कठिन अवस्था र क्षतिबारे मौनता अपनाउँदै भावनात्मक नारा र आकर्षक प्रचारशैलीमार्फत जनतालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाइन्छ। कतिपयले यसलाई वास्तविक मुद्दाबाट ध्यान मोड्ने रणनीतिको रूपमा समेत व्याख्या गरेका छन्।
यता एमाले समर्थकहरू भने यादवमाथि लगाइएका आरोपलाई राजनीतिक पूर्वाग्रहको परिणाम भएको दाबी गर्छन्। उनीहरूका अनुसार नयाँ पुस्तालाई राजनीतिमा ल्याउने र पुराना सोच तोड्ने प्रयासस्वरूप यस्तो अभियान सञ्चालन गरिएको हो।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूबीच आरोप–प्रत्यारोपको राजनीति थप चर्किँदै गएको छ। मतदाताहरूले नाराभन्दा पनि तथ्य, विगतको भूमिकाको मूल्यांकन र भविष्यको स्पष्ट योजना हेरेर निर्णय गर्ने अपेक्षा गरिएको छ।