पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार बनेकी रिमा कुमारी यादवको चुनावी प्रचार ‘जेन्जी नेता’ को नारासँगै अघि बढिरहेको छ। तर उनको यो प्रचार शैलीले स्थानीय राजनीतिक वृत्तमा नयाँ विवाद निम्त्याएको छ।
स्थानीय मतदाताहरूले यादवले क्षेत्रको विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनासम्बन्धी स्पष्ट र व्यवहारिक योजना सार्वजनिक गर्न नसकेको आरोप लगाएका छन्। पर्सा–२ जस्तो विकासको दृष्टिले चुनौतीपूर्ण क्षेत्रमा उम्मेदवारबाट ठोस कार्ययोजना अपेक्षा गरिए पनि यादवको प्रचार बढी नारामुखी देखिएको टिप्पणी भइरहेको छ।
यसैबीच, जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा एमालेका पार्टी कार्यालय र नेताहरूको घरमा भएको आगजनी तथा तोडफोडको घटना स्मरणीय रहँदा सोही पार्टीकी उम्मेदवारले आफूलाई आन्दोलनसँग जोडेर प्रस्तुत गर्नुले राजनीतिक अवसरवादको संकेत दिएको भन्दै आलोचना बढेको छ। केही विश्लेषकहरूले यसलाई जनताको भावनालाई प्रभावित पार्ने रणनीति भएको बताएका छन्।
स्थानीय अगुवाहरूले यादवसँग क्षेत्रका कृषक समस्या, युवाको वैदेशिक पलायन, औद्योगिक विकास तथा आधारभूत पूर्वाधार सुधारका विषयमा पर्याप्त अध्ययन र दीर्घकालीन योजना अभाव रहेको दाबी गरेका छन्। उनीहरूले भावनात्मक नाराभन्दा पनि परिणाममुखी कार्यक्रम प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूबीच आरोप–प्रत्यारोपको राजनीति तीव्र बन्दै गएको छ। मतदाताहरू भने विकासमुखी, उत्तरदायी र स्पष्ट योजना भएका नेतृत्वको खोजीमा रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।