बर्दिबास । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा महोत्तरी जिल्लामा इजाजतप्राप्त हातहतियार सङ्कलन प्रभावकारी हुन नसक्दा चुनावी सुरक्षामाथि प्रश्न उठ्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले पुस २८ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र अर्थात् माघ १३ गतेसम्म सबै इजाजतप्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो । तर तोकिएको समयसीमा सकिएको एक साता बितिसक्दा जम्माजम्मी ९ प्रतिशत अर्थात् ३१ थान हतियार मात्र बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी शैलेन्द्र भट्टले बताउनुभयो । प्रशासनको अभिलेख अनुसार जिल्लामा ३०० थानभन्दा बढी इजाजतप्राप्त हातहतियार रहेका छन् ।
अभिलेखमा १२ बोरका एकनाले १८० र दुईनाले १०६ गरी २८६ थान, २२ बोरका एकनाले १९ र दुईनाले २ थान, एकनाले भरुवा बन्दुक ४ थान, रिभल्भर ११ थान र हावादारी बन्दुक १ थान गरी कुल ३२३ थान हतियार दर्तामा रहेका छन् । यी हतियार ३१२ जनाले निजी सुरक्षाका लागि इजाजत लिएर राखेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बर्दिबास मातहतका क्षेत्रमा १२ थान इजाजतप्राप्त हतियारमध्ये अहिलेसम्म ६ थान मात्र बुझाइएको बर्दिबासका डिएसपी विकास बलामेले बताउनुभयो ।
मतदान हुन अब करिब २८ दिन मात्र बाँकी रहँदा ९१ प्रतिशत अर्थात् २९२ थान हतियार अझै नागरिकको हातमै रहेका छन् । सुरक्षा विज्ञहरूका अनुसार यस्तो अवस्थाले निर्वाचनको निष्पक्षता, मतदाताको निर्भीक सहभागिता र समग्र शान्तिसुरक्षामा नकारात्मक प्रभाव पार्न सक्छ ।
२०७४ सालको निर्वाचनमा महोत्तरीमा प्रहरी उपरीक्षकको हैसियतले सुरक्षा व्यवस्थापन सम्हाल्नुभएका नेपाल प्रहरीका पूर्व एआइजी कुँवेर कडायतका अनुसार विशेषगरी तराई–मधेशका जिल्लामा निर्वाचनका बेला राजनीतिक दबाब, धाकधम्की र झडपका घटनाको जोखिम उच्च मानिन्छ । खुला सीमा भएकाले हतियारको दुरुपयोग हुने जोखिम पनि उत्तिकै रहने उहाँले बताउनुभयो ।
इजाजतप्राप्त भए पनि हातहतियारले मतदातामा डरत्रास बढाउनुका साथै उम्मेदवारबिचको टकराव वा आकस्मिक हिंसात्मक घटनामा प्रयोग हुन सक्ने सम्भावनाका कारण राज्यले निर्वाचन अवधिमा ती हतियार प्रहरी नियन्त्रणमा राख्ने अभ्यास गर्दै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाँकी हतियार समयमै सङ्कलन हुन सकेनन् भने सुरक्षाकर्मीहरूलाई मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा थप दबाब पर्न सक्छ ।”
भारतको बिहार राज्यका मधुवनी र सीतामढी जिल्लासँग ३९ किलोमिटर खुला सीमा रहेको महोत्तरीका २५८ मतदान स्थलमध्ये सुरक्षा निकायले ६३ प्रतिशत अर्थात् १६३ वटा अति संवेदनशील र ३४ प्रतिशत अर्थात् ८९ वटा मतदान स्थललाई संवेदनशील सूचीमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार निर्वाचनका बेला यस्ता हतियार गलत प्रयोजनमा प्रयोग हुन सक्ने भएकाले बुझाउन सूचना जारी गरिएको हो । “मातहतका इलाका प्रहरी कार्यालय, थाना र चौकीमार्फत हतियार सङ्कलन अभियान तीव्र पारिएको छ, बुझाउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतदान आउन करिब एक महिना बाँकी रहेकाले त्यसअगावै बाँकी सबै हतियार सङ्कलन भइसक्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । जिल्लाभर कडाइका साथ सुरक्षा परिचालन गरिएकोले शान्ति सुरक्षामा आशङ्का नगर्न उहाँले आग्रह गर्नुभयो ।