पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवको चुनावी प्रचार शैलीले स्थानीय राजनीतिक वृत्तमा गम्भीर बहस र विवाद सिर्जना गरेको छ। आफूलाई ‘जेन्जी नेता’ का रूपमा प्रस्तुत गर्दै आएकी यादवमाथि भावनात्मक नारामार्फत मतदातालाई गुमराहमा पार्ने प्रयास गरेको आरोप लाग्न थालेको छ।
यादवले पछिल्लो समय चुनावी प्रचारमा ‘जेन्जी नेता’ को ब्रान्ड प्रयोग गर्दै घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। तर स्थानीय स्तरमा उनको यो दाबी विवादित बन्दै गएको छ। जेन्जी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा नेकपा एमालेका पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड भएका घटनाहरू अझै जनस्मृतिमा ताजा रहेको अवस्थामा सोही पृष्ठभूमिमा एमाले उम्मेदवारले आफूलाई आन्दोलनको प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गर्न खोज्नु विरोधाभासपूर्ण रहेको टिप्पणी हुन थालेको छ।
स्थानीय मतदाताहरूका अनुसार आन्दोलन दबाउने शक्तिको प्रतिनिधित्व गर्ने राजनीतिक संरचनाभित्र रहेर आन्दोलनकै नेतृत्वको दाबी गर्नु नैतिक रूपमा असंगत देखिन्छ। राजनीतिक विश्लेषकहरू पनि ‘जेन्जी नेता’ को नारालाई आन्दोलनबाट प्रभावित नागरिकहरूको भावनामाथि खेल्ने रणनीतिको रूपमा व्याख्या गर्छन्। उनीहरूको भनाइमा आन्दोलनको नामलाई भोट आकर्षित गर्ने माध्यम बनाउने प्रयासले वास्तविक मुद्दा ओझेलमा पार्ने खतरा बढाएको छ।
यादवको प्रचार शैलीमाथि अर्को विवाद पनि थपिएको छ। उनका अधिकांश चुनावी ब्यानर, पोस्टर तथा प्रचार सामग्रीमा पार्टीका शीर्ष नेतृत्वको तस्बिर नदेखिनुले स्थानीय स्तरमा थप प्रश्न उठाएको छ। सामान्यतया एमालेजस्ता केन्द्रीय नेतृत्वमा आधारित दलका उम्मेदवारहरूले पार्टी अध्यक्ष तथा शीर्ष नेताको तस्बिरलाई प्रचारको प्रमुख आधार बनाउने परम्परा रहँदै आएको छ। तर यादवको प्रचार सामग्रीमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पूर्ण रूपमा अनुपस्थित देखिनुले उनको राजनीतिक नियतबारे शंका उत्पन्न गरेको छ।
आलोचकहरूका अनुसार स्थानीय मतदातामाझ पार्टी नेतृत्वप्रति देखिएको असन्तुष्टिलाई ध्यानमा राख्दै यादवले जानाजानी केन्द्रीय नेतृत्वको अनुहार लुकाउने रणनीति अपनाएको हुन सक्छ। उनीहरू भन्छन्, “पार्टीको नाम र चुनाव चिन्ह प्रयोग गरेर मत माग्ने तर पार्टी नेतृत्वको जिम्मेवारीबाट टाढा रहने प्रवृत्ति राजनीतिक ईमानदारीसँग मेल खाँदैन।”
यादवले आफूलाई नयाँ पुस्ताको प्रतिनिधि उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आएकी छन्। तर आलोचकहरूका अनुसार नयाँ पुस्ताको नेतृत्वको नाममा भावनात्मक प्रचार, नारामुखी राजनीति र पार्टी पहिचानबाट दूरी बनाउने शैलीले उनको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।
निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा आरोप–प्रत्यारोपको राजनीति थप चर्किँदै गएको छ। रिमा यादवको प्रचार रणनीति, ‘जेन्जी नेता’ ब्रान्डिङ र प्रचार सामग्रीमा देखिएको नेतृत्वविहीन छविले उनको राजनीतिक प्रतिबद्धता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाइरहेको छ। अब मतदाताले नाराभन्दा तथ्य, विगतको भूमिकाको मूल्यांकन र स्पष्ट योजनालाई आधार बनाएर निर्णय गर्ने अपेक्षा गरिएको छ।