वीरगञ्ज । नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी पुनः विवादको घेरामा परेका छन्। विभिन्न छुद्र गतिविधि, विवादास्पद अभिव्यक्ति तथा जनताप्रति देखिएको व्यवहारका कारण उनीप्रति स्थानीय जनप्रतिनिधि र सर्वसाधारण नागरिक असन्तुष्ट बन्दै गएको चर्चा भइरहेको छ।
राजनीतिक जीवनभर विभिन्न विवादमा मुछिँदै आएका चौधरीमाथि विपक्षी नेतामाथि झुटा आरोप लगाउने, मुद्दा दर्ता गराएर दुःख दिने तथा व्यक्तिगत चरित्रमाथि प्रहार गर्ने प्रवृत्ति रहेको आरोप लाग्दै आएको छ। स्थानीय राजनीतिक वृत्तका अनुसार उनी स्वस्थ राजनीतिक प्रतिस्पर्धाभन्दा विवाद सिर्जना गरेर चर्चामा रहने रणनीतिमा केन्द्रित रहने गरेको आरोप सुनिँदै आएको छ।
यसका साथै, विभिन्न गाउँबाट आएका सर्वसाधारण नागरिकसँग प्रहरीमा रहेका मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने गरेको विषय पनि समय–समयमा सार्वजनिक हुँदै आएको बताइन्छ। पीडितहरूले काम पूरा नभएपछि रकम फिर्ता माग्न जाँदा अपमानित भएर फर्किनुपरेको गुनासो गर्दै आएका छन्। यस्ता घटनाले चौधरीको सार्वजनिक छविमाथि थप प्रश्न उठाएको स्थानीयहरू बताउँछन्।
चौधरीको शैक्षिक पृष्ठभूमिलाई लिएर पनि विवाद उठ्ने गरेको छ। सीमावर्ती क्षेत्रको एक शैक्षिक संस्थाबाट अध्ययन गरेका भए पनि आफूले अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा अध्ययन गरेको दाबी गर्दै भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप स्थानीय स्तरमा लाग्दै आएको छ।
पार्टीभित्र समेत चौधरीको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको बताइन्छ।
कांग्रेसकै केही कार्यकर्ताहरूले उनलाई सहकर्मी नेताहरू र कार्यकर्तामाथि दबाब दिने, दमन गर्ने तथा प्रताडित गर्ने प्रवृत्ति देखाएको आरोप लगाउने गरेका छन्। चौधरीको पैतृक गाउँ पर्ने पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसकै नेतृत्व भए पनि त्यहाँका जनप्रतिनिधिहरू उनीप्रति असन्तुष्ट रहेको चर्चा हुने गरेको छ। त्यस्तै, पकाहाँ मैनपुर गाउँपालिकाका जनप्रतिनिधिहरू पनि उनको व्यवहारबाट दिक्क भई दूरी कायम राख्ने गरेको स्थानीय स्रोतको भनाइ छ।
अघिल्लो निर्वाचनका क्रममा पोखरिया नगरपालिका –सत्वरिया क्षेत्रमा मतदाताप्रति दिएको विवादास्पद अभिव्यक्ति अझै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उक्त अभिव्यक्तिपछि केही स्थानीय मतदाताहरू उनीप्रति आक्रोशित बनेको र आगामी निर्वाचनमा समर्थन नगर्ने चेतावनी दिएका घटनाहरू सार्वजनिक भएका थिए।
पछिल्लो समय चुनावी प्रचारका क्रममा चौधरीले आफूलाई अत्यधिक पढेलेखे व्यक्तिको रूपमा प्रस्तुत गर्दै कहिले अङ्ग्रेजी त कहिले संस्कृत भाषामा भाषण गर्दै भोट माग्ने शैली अपनाएको आरोप लाग्दै आएको छ। कतिपय मतदाताहरूले यसलाई जनतासँगको दूरी बढाउने व्यवहारको रूपमा व्याख्या गरेका छन्।
स्थानीय नागरिकहरूका अनुसार चौधरी पटक–पटक निर्वाचन जितेर जनप्रतिनिधि बने पनि आफ्नो निर्वाचन क्षेत्रमा कुनै ठोस विकास कार्य नगरेको गुनासो बढ्दै गएको छ। मतदाताहरूले विकासका उपलब्धिबारे प्रश्न गर्दा उनी असन्तुष्ट हुँदै अङ्ग्रेजी भाषामा प्रतिक्रिया जनाएर संवादबाट पन्छिने गरेको आरोपसमेत लगाइएको छ।
राजनीतिक नेतृत्वमा पारदर्शिता, उत्तरदायित्व र जनभावनाको सम्मान अपरिहार्य मानिन्छ। तर चौधरीमाथि लागिरहेका आरोप र उनको कार्यशैलीलाई लिएर स्थानीय स्तरमा उनको राजनीतिक विश्वसनीयता कमजोर हुँदै गएको विश्लेषकहरूको भनाइ छ। आगामी निर्वाचन नजिकिँदै जाँदा यी विवादहरूले उनको राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्ने भन्ने विषय चासोको केन्द्र बनेको छ।