बारा । बारा निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारीप्रति स्थानीय मतदाताको असन्तुष्टि बढ्दै गएको छ। मधेस प्रदेशको राजनीतिक स्थायित्वमाथि असर पार्ने गतिविधिमा संलग्न भएको तथा अवसरवादको राजनीति गरेको आरोप लगाउँदै मतदाताहरूले उनको उम्मेदवारीप्रति विरोध जनाउन थालेका छन्।
स्थानीय मतदाताहरूका अनुसार मधेस प्रदेशले मुख्यमन्त्रीको रूपमा बारा–४ निवासी जितेन्द्र सोनललाई पाएको अवस्थामा प्रदेशसभामा विश्वासको मत दिने–नदिने संवेदनशील समयमा अन्सारीले स्टन्टबाजी शैलीमा प्रस्तुत हुँदै प्रदेशको राजनीतिक स्थायित्वमा असर पुर्याउने प्रयास गरेका थिए। मतदाताहरूले यस्तो गतिविधिलाई गैरजिम्मेवार र नाटकबाजीपूर्ण राजनीतिको उदाहरणका रूपमा टिप्पणी गरेका छन्।
अन्सारीमाथि चुनाव नजिकिँदै गर्दा पार्टी परिवर्तन गरेर राजनीतिक स्वार्थ पूरा गर्न खोजेको आरोप पनि लागेको छ। तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका अन्सारीले चुनावको मुखमा पार्टी परित्याग गरी आफ्नो चुनावी क्षेत्र परिवर्तन गर्दै बारा–४ बाट रास्वपाको टिकट लिएर उम्मेदवारी दिएको विषयलाई स्थानीयले अवसरवादी कदमका रूपमा लिएका छन्।
स्थानीय राजनीतिक वृत्तका अनुसार निर्वाचनको समयमा मात्र दल र क्षेत्र परिवर्तन गर्ने प्रवृत्तिले जनप्रतिनिधिको वैचारिक स्थायित्वमाथि प्रश्न उठाएको छ। बारा–४ का एक मतदाताले भने, “जनताले दिएको जिम्मेवारी पूरा नगरी बीचमै पार्टी र क्षेत्र बदल्ने प्रवृत्तिले नेतृत्वप्रति विश्वास कमजोर बनाउँछ।”
रास्वपाले सुशासन र पारदर्शितालाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा भाग लिँदै आएको अवस्थामा अवसरवादको आरोप लागेका व्यक्तिलाई उम्मेदवार बनाउनु आफैंमा विरोधाभासपूर्ण भएको टिप्पणी पनि मतदाताहरूले गरेका छन्। केही स्थानीय बासिन्दाका अनुसार राजनीतिक प्रतिबद्धता र नैतिकताको अभाव देखिएको व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको घोषणापत्र र व्यवहारबीच अन्तर देखिएको छ।
मतदाताहरूले अन्सारीले प्रदेशसभामा निर्वाचित भएपछि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको र व्यक्तिगत राजनीतिक भविष्य सुरक्षित गर्न केन्द्रित भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार जनप्रतिनिधिले जनताको मुद्दा उठाउनेभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको धारणा स्थानीय स्तरमा फैलिँदै गएको छ।
निर्वाचन नजिकिँदै जाँदा बारा–४ मा अन्सारीको उम्मेदवारीलाई लिएर मतदाताबीच असन्तुष्टि र बहिष्कारको चर्चा बढ्दै गएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार बारम्बार दल परिवर्तन गर्ने तथा विवादित गतिविधिमा संलग्न हुने प्रवृत्तिले अन्सारीको राजनीतिक विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। आगामी निर्वाचनमा मतदाताले यस्तो शैलीको राजनीतिप्रति कस्तो निर्णय गर्छन् भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।