वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानीप्रति स्थानीय मतदाताको असन्तुष्टि बढ्दै गएको छ। मधेस आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नरहेको र व्यापारी पृष्ठभूमिबाट आएका टेमानीलाई उम्मेदवार बनाइएको भन्दै मतदाताले उनको उम्मेदवारीमाथि प्रश्न उठाउन थालेका छन्।
स्थानीय राजनीतिक वृत्तका अनुसार मधेस आन्दोलनका क्रममा सक्रिय रूपमा योगदान दिएका पुराना नेता तथा कार्यकर्तालाई पाखा लगाउँदै आर्थिक हैसियतका आधारमा टिकट वितरण गरिएको आरोप जसपामाथि लागिरहेको छ। यस निर्णयले पार्टीप्रतिको जनविश्वास कमजोर बन्दै गएको स्थानीयहरूको भनाइ छ।
पर्सा–२ का एक मतदाताले असन्तुष्टि व्यक्त गर्दै भने, “चुनावको समयमा मात्रै देखिने नेताबाट जनता आजित भइसकेका छन्। आन्दोलन, संघर्ष र जनताको दुःख–सुखमा नदेखिने व्यक्ति अचानक उम्मेदवार बन्नु मतदाताप्रतिको अपमान हो।”
मतदाता एवं स्थानिय गजेन्द्र तुरहाका अनुसार आन्दोलनमा योगदान दिएका नेता–कार्यकर्तालाई बेवास्ता गर्दै पैसाको आधारमा उम्मेदवार चयन गर्दा जनताको भावना र अपेक्षामा गम्भीर चोट पुगेको छ। उनले यस्तो प्रवृत्तिले राजनीतिलाई सेवा होइन, व्यापारको माध्यम बनाउने खतरा बढाएको टिप्पणी गरेका छन्।
बहुदरमाई नगरपालिकाका साहले उम्मेदवार टेमानी समाजका लागि नयाँ अनुहार भए पनि उनको सामाजिक योगदान नगन्य रहेको बताएका छन्। व्यापारी पृष्ठभूमिका टेमानीसँग आधा दर्जनभन्दा बढी उद्योग–कलकारखाना सञ्चालनमा रहेको उल्लेख गर्दै साहले ती उद्योगमा स्थानीय नेपाली कामदारलाई अवसर नदिई भारतीय नागरिकलाई मात्र प्राथमिकता दिएको आरोप लगाएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार उद्योगमार्फत रोजगारी सिर्जना गर्ने दाबी गर्दै चुनावमा उत्रिएका टेमानीमाथि आफ्नै उद्योगमा स्थानीय युवालाई अवसर नदिएको आरोप लाग्नु विरोधाभासपूर्ण भएको बताएका छन्। “भारतीय नागरिकलाई रोजगारी दिने तर पर्साबासीसँग भोट माग्ने प्रवृत्ति स्वीकार्य छैन,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
कतिपय स्थानीयले चुनाव नजिकिँदा मात्र क्षेत्र भ्रमण गर्ने र जनताको समस्या बुझ्न सक्रिय नदेखिने उम्मेदवारप्रति विश्वास गर्न नसकिने बताएका छन्। उनीहरूका अनुसार जनताको संघर्ष र सामाजिक सरोकारसँग नजोडिएको उम्मेदवारीले लोकतान्त्रिक मूल्य र जनप्रतिनिधित्वको मर्म कमजोर बनाउने खतरा बढाउँछ।
पर्सा–२ मा जसपाबाट व्यापारी पृष्ठभूमिका उम्मेदवार उठाइएको विषयले चुनावी माहोल थप तातेको छ। स्थानीय स्तरमा वैकल्पिक नेतृत्वको खोजी तीव्र बन्दै गएको चर्चा भइरहेको छ। टेमानीको उम्मेदवारीप्रति उठिरहेका असन्तुष्टि र आरोपहरूले आगामी निर्वाचनमा उनको जनसमर्थनमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।