पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी चुनाव नजिकिँदै जाँदा मतदाता रिझाउन अवास्तविक तथा विवादास्पद आश्वासन दिन थालेको आरोप लागेको छ।
चुनावी प्रचारप्रसारका क्रममा विभिन्न कार्यक्रममा सम्बोधन गर्दै चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई गरिबीमुक्त बनाउने तथा व्यापक रोजगारी सिर्जना गर्ने योजना अघि सारेको दाबी गरेका छन्। तर स्थानीय मतदाताले भने यसलाई चुनावी स्टन्ट र झुटा आश्वासनको रूपमा लिन थालेका छन्। विगतका निर्वाचनमा पटक–पटक विजयी हुँदै आएका चौधरी तथा नेपाली कांग्रेसले लामो समयसम्म सरकार सञ्चालन गरे पनि पर्सा क्षेत्र नं. ३ को समग्र विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको आरोप स्थानीयवासीले लगाएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार हरेक निर्वाचनमा उही पुराना एजेन्डा प्रस्तुत गर्दै मत माग्ने तर जितपछि ती प्रतिबद्धता कार्यान्वयन नगर्ने प्रवृत्तिले मतदातामा निराशा बढाएको छ। क्षेत्रको पूर्वाधार विकास, रोजगार सिर्जना र गरिबी न्यूनीकरण जस्ता विषयमा ठोस उपलब्धि देखिन नसकेको भन्दै चौधरीको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ।
यसैबीच, चौधरीले हालै एक सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा पर्सा क्षेत्र नं. ३ का मतदातालाई तस्कर तथा अवैध कारोबारीको पैसामा प्रभावित हुने जस्तो अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिप्रति स्थानीय मतदाता, नागरिक समाज तथा राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेको छ। मतदातालाई अपमानजनक रूपमा चित्रण गरेको भन्दै चौधरीप्रति असन्तुष्टि बढ्दै गएको बताइएको छ।
चुनावी माहोल तातेका बेला उम्मेदवारको यस्ता अभिव्यक्ति र अविश्वसनीय प्रतिबद्धताले मतदाताको विश्वास घट्दै गएको विश्लेषकहरूको भनाइ छ। मतदाताले अब व्यवहारिक योजना, स्पष्ट कार्यदिशा र विगतका प्रतिबद्धताको मूल्याङ्कनका आधारमा निर्णय गर्ने संकेत देखिएको छ।