पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले मतदातामाथि अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेपछि उनी विवादमा तानिएका छन्।
हालै एक सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा चौधरीले पर्सा क्षेत्र नं. ३ का मतदाताहरू तस्कर तथा अवैध कारोबारीको पैसामा प्रभावित हुने जस्ता टिप्पणी गरेका थिए। उनले विगतका निर्वाचनमा आफू पराजित हुनुको कारण पनि मतदाताहरू पैसामा बिकेका कारण भएको दाबी गरेका छन्। साथै, चुनावी परिणामप्रति असन्तुष्टि जनाउँदै पुनः मतगणनाको माग गर्दै अदालतमा रिट निवेदन दायर गरेको भए पनि अदालतले उक्त निवेदन अस्वीकार गरेको उनले बताएका छन्।
चौधरीको यस अभिव्यक्तिप्रति स्थानीय मतदाताहरू आक्रोशित बनेका छन्। मतदातामाथि नै आरोप लगाएर आफ्नो राजनीतिक असफलता ढाकछोप गर्न खोजिएको भन्दै उनीप्रति असन्तुष्टि बढ्दै गएको स्थानीयवासीको भनाइ छ। मतदातालाई अपमानजनक रूपमा चित्रण गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको नागरिक समाजका अगुवाहरूले बताएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार जनताको विश्वास जित्न नसक्दा मतदातामाथि दोष थोपर्ने प्रवृत्तिले चौधरीको राजनीतिक विश्वसनीयतामाथि थप प्रश्न खडा गरेको छ। मतदातालाई सम्मान गर्नुपर्ने नेता स्वयंले नै मतदातामाथि गम्भीर आरोप लगाउनु दुर्भाग्यपूर्ण भएको भन्दै चौधरीको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।
चुनावी माहोल तातेका बेला उम्मेदवारबाट आएको यस्तो अभिव्यक्तिले मतदाताको भावनामा चोट पुगेको र यसले आगामी निर्वाचनमा उनको राजनीतिक भविष्यसमेत प्रभावित हुन सक्ने विश्लेषकहरूको भनाइ छ।