रौतहट । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार महतोले विभिन्न व्यक्तिहरूलाई प्रलोभन र विश्वासमा पारेर लाखौं रुपैयाँ ठगी गरेकी छिन् । उनले सर्लाहीका अटो चालक राजेश्वर साहसँग चिनजान गरी भन्सारबाट ‘स्कारपियो’ गाडी मिलाइदिने भन्दै उनले १ लाख ५० हजार रुपैयाँ र कागजात लिएकी थिइन् ।
सन्तोष विश्वकर्माको ज्वेलर्सबाट २ लाख ७४ हजार बराबरको गहना र प्रवीण साहको किराना पसलबाट १ लाख २६ हजार बराबरको सामान तथा गाडी भाडा नतिरी ठगी गरेको आरोप छ ।
सापटीका नाममा ठगी गरेको पनि पाइएको छ । उनी गुजरा नगरपालिकाका विजय साह बनियाँसँग घरायसी समस्या देखाएर ५ लाख रुपैयाँ सापटी लिई फरार भएकी थिइन् ।
पीडितहरूको उजुरीका आधारमा उनलाई चन्द्रपुर नगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रूपा लाबुङका अनुसार महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।