वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापामारी गरेको छ। राजस्व छलीको आशंकामा गरिएको उक्त कारबाहीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल तथा वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाको आधारमा संयुक्त टोली गोदाममा पुगेको थियो। टोलीले खानतलासी सुरु गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए।
व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण सशस्त्र प्रहरीले दुःख दिएको आरोप लगाएका छन्। व्यापारीहरूको आक्रोश बढ्दै जाँदा सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार भएको सशस्त्र प्रहरीले जनाएको छ।
झडपका क्रममा ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी चढेको गाडीको अगाडिको सिसा फुट्नुका साथै एकजना सुरक्षाकर्मी घाइते भएका छन्। घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।
सशस्त्र प्रहरीले उक्त गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिएको भए पनि त्यसको विस्तृत विवरण तथा परिमाण हालसम्म सार्वजनिक गरिएको छैन। “हाल सामानको लगत संकलन गर्ने तथा मुचुल्का उठाउने कार्य भइरहेको छ। गोदाम कसको स्वामित्वमा रहेको भन्ने विषयमा समेत अनुसन्धान जारी छ,” नायव उपरीक्षक अधिकारीले जानकारी दिए।
यता व्यापारीहरूले भने वैध रूपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिलाई तस्करसरह व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिलबिजक प्रस्तुत गर्दा पनि सामान नियन्त्रणमा लिन खोजिएपछि स्थिति तनावपूर्ण बनेको उनीहरूको भनाइ छ। साथै, बिलबिजक हुँदाहुँदै गोदाममा प्रवेश गरी सामान जफत गर्ने तथा बेवारिसे घोषणा गरेर निलामी गर्ने प्रवृत्तिले व्यापारीहरू हैरान भएको उनीहरूले आरोप लगाएका छन्।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।