वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२ स्थित प्रहरी चौकी टिहुकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) राजदेव यादवको व्यवहारलाई लिएर विवाद उत्पन्न भएको छ। गएको सोमबार गाउँमा आयोजित विवाह समारोहको अवसरमा भएको नाच प्रदर्शनका क्रममा उनी मदिरा सेवन गरी प्रहरी पोशाकमै तेस्रोलिङ्गीसँग रमाइलो गर्दै टिप्पस दिएको आरोपसहितको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा असई यादव मदिरा सेवन गरेको अवस्थामा नाच कार्यक्रममा सहभागी भई तेस्रोलिङ्गीसँग नाचगान गर्दै रकम दिइरहेको दृश्य देखिएको छ। सार्वजनिक कार्यक्रममै प्रहरी पोशाकमा यस्तो गतिविधि गरेको भन्दै प्रहरी संगठनको मर्यादा र अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
प्रहरी संगठन अनुशासन र जिम्मेवारीको प्रतीक मानिन्छ। जिम्मेवार पदमा कार्यरत प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा यस्तो व्यवहार देखाउँदा प्रहरीप्रतिको जनविश्वास कमजोर हुने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
घटनाबारे सम्बन्धित निकायले आवश्यक छानबिन सुरु गरेको स्रोतले जनाएको छ। प्रहरी नियमावलीअनुसार पोशाकमै मदिरा सेवन गर्नु तथा संगठनको प्रतिष्ठामा आँच आउने गतिविधिमा संलग्न हुनु गम्भीर अनुशासनहीनता मानिन्छ। दोषी प्रमाणित भए आवश्यक कारबाही गरिने बताइएको छ।
यस घटनाले प्रहरी संगठनभित्र अनुशासन र आचरणलाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको सरोकारवालाहरूको भनाइ छ।