वीरगञ्ज । पर्सामा कार्यरत सशस्त्र प्रहरीमाथि सीमाबाट अवैध सामान भित्रिन दिने र नेपाल भित्रिएपछि गोदाममा छापा मारेर नियन्त्रणमा लिने ‘दोहोरो नीति’ अपनाएको आरोप लागेको छ। यस्तै आरोपका कारण वीरगञ्ज महानगरपालिकाको आदर्शनगरस्थित एक गोदाममा छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ।
व्यापारीहरूले सशस्त्र प्रहरीले सीमाक्षेत्रमा आर्थिक लेनदेनको आधारमा तस्करी मौलाउन दिएको र सामान भित्रिसकेपछि मात्रै नियन्त्रणमा लिएर दुःख दिने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार यस्तो कार्यले वैध रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई समेत अनावश्यक रूपमा समस्यामा पार्ने गरेको छ।
राजस्व छलीको आशंकामा वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोदाममा छापा मारेपछि स्थिति तनावपूर्ण बनेको थियो। व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक हुँदाहुँदै नियन्त्रणमा लिन खोजिएको भन्दै विरोध जनाएका थिए। विरोध उग्र बन्दा सुरक्षाकर्मी र व्यापारीबीच झडप भएको थियो।
घटनाका क्रममा ढुङ्गामुढा प्रहार हुँदा सशस्त्र प्रहरीको गाडीमा क्षति पुगेको र एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्। घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।
स्थानीय व्यवसायीहरूले सीमाक्षेत्रमा हुने गतिविधिमाथि प्रभावकारी निगरानी नगरी गोदाम तथा पसलहरूमा मात्र कारबाही गर्ने प्रवृत्तिले व्यवसायीहरूलाई असुरक्षित बनाएको बताएका छन्। उनीहरूले बिलबिजक प्रस्तुत गर्दा पनि सामान जफत गर्ने र बेवारिसे घोषणा गरी निलामी गर्ने अभ्यास बढ्दै गएको गुनासो गरेका छन्।
व्यापारीहरूको आरोप छ कि सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणमा प्रभावकारी कदम नचाल्दा अवैध कारोबार मौलाइरहेको छ। तर नेपाल भित्रिएका सामानमाथि मात्र कारबाही गर्दा वास्तविक समस्या समाधान हुन नसक्ने उनीहरूको भनाइ छ।
यता सशस्त्र प्रहरीका अधिकारीहरूले भने आरोप अस्वीकार गर्दै राजस्व चुहावट रोक्न कानुनअनुसार कारबाही गरिएको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने व्यवसायी र सुरक्षाकर्मीबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।