बंगलादेशमा आम चुनावको लागि मतदान भइरहेको छ ।
५१ राजनीतिक दलहरू सत्ताको लागि प्रतिस्पर्धा गरिरहेका छन् । चुनावमा २४९ स्वतन्त्र उम्मेदवारहरूसहित कुल १,९८१ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
बंगलादेशमा करिब १२ करोड ७० लाख मतदाताले आफ्नो मतदान अधिकार प्रयोग गर्नेछन् । करिब ४५ लाख ७० हजार मतदाताले पहिलोपटक मतदान गर्दैछन् ।
चुनावमा प्रमुख दलहरू बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात ए इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी), जातीय पार्टी (जेपी-कादर), वाम लोकतान्त्रिक गठबन्धन र अमर बंगलादेश पार्टी लगायतले भाग लिएको छ ।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री पदका प्रमुख दाबेदार हुन् । उनको पार्टी बीएनपी चुनावमा सत्ताको प्रमुख दाबेदार हो । यदि बीएनपीले जित्यो भने रहमान प्रधानमन्त्री हुने निश्चित छ ।
यता जमात ए इस्लामी र एनसीपीको पनि चर्चा छ । जमात ए इस्लामीका नेता शिफुकुर रहमान र एनसीपी नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका प्रमुख दाबेदार हुन् ।
यसैबीच, बंगलादेशका गृह सल्लाहकार मोहम्मद जहाँगीर आलम चौधरीले मतदानको क्रममा मतपेटिका खोसिएमा, नक्कली मतदान भएमा वा कुनै पनि प्रकारको अनियमितता भएमा कानून प्रवर्तन निकाय र निर्वाचन अधिकारीहरू विरुद्ध कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
बंगलादेशमा मतदान साँझ ४ः३० बजेसम्म जारी रहनेछ । मतगणना मतदान सकिएपछि आजै साँझबाट सुरु हुने र भोलि बिहानसम्म नतिजा आउनेछ ।