वीरगञ्ज । पर्सा प्रहरी मातहत कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राजदेव यादव जन्तीको नाचका क्रममा अमर्यादित गतिविधि गरेको आरोपपछि विभागीय कारबाहीमा परेका छन्।
जन्तीको नाचका क्रममा असई यादव तेस्रोलिङ्गी कलाकारसँग मदिरा सेवन गर्दै पैसा लुटाइरहेको तथा अनुचित व्यवहार गरिरहेको भिडियोसहितको समाचार ‘ज्योती दैनिक’ ले सार्वजनिक गरेपछि उक्त घटना बाहिर आएको थियो । समाचार सार्वजनिक भएपछि पर्सा प्रहरीले घटनाको छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरी चौकी टिहुकीका इन्चार्जका रूपमा कार्यरत असई यादवले गत माघ १९ गते राति छिपहरमाई गाउँपालिका–२ भेडिअर्वा गाउँमा दसौता गाउँबाट आएको जन्तीको नाचका क्रममा प्रहरी आचरणविपरीत गतिविधि गरेको भन्दै ज्योती दैनिकले समाचार प्रकाशन गरेपछि पर्सा प्रहरीको ध्यानआकर्षण भएको थिए।
प्रहरी आचारसंहिताविपरीत कार्य गरेको देखिएपछि असई यादवलाई इलाका प्रहरी कार्यालय पोखरियामा तानेर आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइएको पर्सा प्रहरी मातहतका एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।