बंगलादेशले ३५ वर्षपछि आज पुरुष प्रधानमन्त्री पाउँदैछ ।
काजी जफर अहमद सन् १९८८ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि, बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जियाको प्रभुत्व रह्यो, जसले दुवैले १९९१ देखि २०२४ सम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए ।
शेख हसिनाले देश छोडेपछि करिब डेढ वर्षपछि हिजो (बिहीबार) आम चुनाव भएको हो ।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत प्राप्त गरेको छ । बीएनपीले २९९ सिटमध्ये १६५ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको हो । योसँगै अब बंंगलादेशी सरकारको नेतृत्व रहमानले गर्नेछन् ।
मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले हसिनाको पार्टी अवामी लिगलाई यो चुनावमा प्रतिबन्ध लगाएको थियो ।
रहमान १७ वर्षपछि गत वर्ष बंगलादेश फर्किएका थिए । उनी फर्किएको केही समयपछि उनकी आमा पूर्वप्रधानमन्त्री जियाको लामो समयदेखि बिरामी परेर निधन भएको थियो । त्यसपछि पार्टीको नेतृत्व रहमानले सम्हालेका थिए ।
सन् २००१ देखि २००६ सम्म बीएनपी शासनकालमा तारिकमाथि भ्रष्टाचारको आरोप लागेको थियो । अन्तरिम सरकारको समयमा २००७ मा उनलाई १८ महिना जेल सजाय सुनाएको थियो । गिरफ्तारीबाट बच्न तारिक २००८ मा लन्डन भागेका थिए ।
तारिकले लन्डनबाटै पार्टीको रणनीति, आन्दोलन र राजनीतिक कार्यदिशा निर्धारण गरेका थिए ।