वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा रीमा कुमारी यादव को उम्मेदवारीप्रति असन्तुष्टि र आलोचना तीव्र बन्दै गएको छ। नेकपा एमाले बाट उम्मेदवार बनेकी यादवलाई प्रचारमुखी, पहुँचमा आधारित र मुद्दाविहीन उम्मेदवार भएको आरोप स्थानीय स्तरमा चर्किँदै गएको छ।
स्थानीय मतदाताहरूका अनुसार यादवले आफूलाई आधुनिक पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गरे पनि जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयहरूमा स्पष्ट धारणा र योजनाको अभाव देखिएको छ। शिक्षा सुधार, रोजगारी सिर्जना, सुशासन तथा स्थानीय विकासका विषयमा ठोस कार्ययोजना सार्वजनिक नगरी सामाजिक सञ्जाल केन्द्रित प्रचार, तडकभडकपूर्ण कार्यक्रम र फोटोसेसनमा मात्र केन्द्रित भएको आरोप लगाइएको छ।
स्थानीय युवाहरूले प्रचारात्मक नाराभन्दा व्यवहारिक कार्यक्रम आवश्यक भएको बताएका छन्। उनीहरूका अनुसार केवल युवा उमेर र सामाजिक सञ्जालको लोकप्रियताले मात्र जनताको विश्वास जित्न नसकिने धारणा बलियो बन्दै गएको छ।
यादवको उम्मेदवारी प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठेको छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका कार्यकर्तालाई पन्छाउँदै यादवले कुन आधारमा टिकट प्राप्त गरिन् भन्ने विषय अहिले स्थानीय राजनीतिक वृत्तमा विवादको विषय बनेको छ।
कतिपय कार्यकर्ताले यादवको राजनीतिक पृष्ठभूमि कमजोर रहेको दाबी गर्दै उनलाई संगठनभन्दा प्रभाव र पहुँचको आधारमा अघि सारिएको आरोप लगाएका छन्। यसले पार्टीभित्रै असन्तुष्टि बढाएको चर्चा भइरहेको छ।
स्थानीय समुदायसँग दीर्घकालीन रूपमा जोडिएको गतिविधि नदेखिएको भन्दै यादवको सामाजिक योगदानमाथि पनि प्रश्न उठेको छ। मतदाताहरूका अनुसार चुनावको समयमा मात्र सक्रिय देखिने प्रवृत्तिले नेतृत्व क्षमतामाथि शंका उत्पन्न गरेको छ।
राजनीतिक विश्लेषकहरूले बाह्य प्रचार र शक्ति केन्द्रको समर्थनका आधारमा बनेको राजनीतिक छवि टिकाउ नहुने बताएका छन्। उनीहरूका अनुसार भुइँतहको जनसम्पर्क र दीर्घकालीन सामाजिक सहभागिता बिना स्थापित हुन खोज्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यास कमजोर बनाउन सक्छ।
पर्सा–२ का मतदाता बाह्य रूपमा मौन देखिए पनि उम्मेदवारको शैली र पृष्ठभूमिप्रति असन्तुष्टि बढ्दै गएको राजनीतिक वृत्तको मूल्याङ्कन छ। यादवविरुद्ध उठिरहेका आलोचना र प्रश्नहरूले आगामी निर्वाचन परिणाममा प्रभाव पार्ने सम्भावना रहेको स्थानीय विश्लेषकहरूको अनुमान छ ।