पर्सा । प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशका स्थानीय तहहरूमध्ये पर्सागढी नगरपालिका पहिलो स्थानमा उक्लिएको छ। नगरपालिकाले १०० पूर्णाङ्कमध्ये ७२.९९ अङ्क प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो।
आयोगले स्थानीय तहहरूको खर्च व्यवस्थापन, राजस्व सङ्कलन, बजेट सञ्चालन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछ। यही मूल्यांकनका आधारमा संघीय सरकारले उपलब्ध गराउने समानीकरण अनुदानको परिमाण निर्धारण गरिने व्यवस्था रहेको छ।
मूल्यांकन परिणामअनुसार दोस्रो स्थानमा बाराको प्रसौनी गाउँपालिका ७०.२४ अङ्कसहित रहेको छ भने पर्साकै पटेर्वा सुगौली गाउँपालिका ६७.९९ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी रौतहटको गौर नगरपालिका ६६.१७ अङ्कसहित चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा सुरूङ्गा नगरपालिका ६५.३८ अङ्क प्राप्त गर्दै परेको छ भने बाराको परवानीपुर गाउँपालिका र पर्साको ठोरी गाउँपालिकाले समान ६५.१७ अङ्क प्राप्त गरेका छन्।
पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक ले एक विज्ञप्ति जारी गर्दै मूल्यांकनमा प्रदेशमै उत्कृष्ट बन्न सफल भएकोमा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विषयगत शाखा, शैक्षिक तथा स्वास्थ्य संस्था, सेवा प्रदायक निकाय, नागरिक समाज तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
उक्त मूल्यांकनले मधेश प्रदेशका धेरै स्थानीय तहहरूको कार्यसम्पादन अवस्था समेत उजागर गरेको छ। आयोगको तथ्याङ्कअनुसार प्रदेशका ५० वटा स्थानीय तहले ५० अङ्कसमेत कटाउन नसकेको देखिएको छ। यसले स्थानीय तहहरूको वित्तीय अनुशासन, सेवा प्रवाह र सुशासनको स्तर सुदृढ गर्न थप सुधारको आवश्यकता रहेको संकेत गरेको छ।