बीरगंज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यसै क्रममा हरी पन्त विरुद्ध मतदाता रिझाउन अनेक रणनीति अपनाएको आरोप लाग्न थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेका पन्तले पछिल्लो समय आफ्नै पार्टीको एजेन्डाभन्दा बाह्य व्यक्तित्वको नाम र छविलाई बढी प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको छ। विशेषगरी बालेन्द्र शाह (बालेन) को तस्बिर र नाम प्रयोग गरी प्रचार–प्रसारमा जोड दिएको देखिएपछि यसलाई मतदाता प्रभावित पार्ने प्रयासका रूपमा हेरिएको छ।
स्थानीयस्तरमा रहेको सनोपाइला बचत तथा ऋण सहकारी संस्था मा सर्वसाधारणले जम्मा गरेको बचत रकम हिनामिना प्रकरण सार्वजनिक भएपछि सो विषयले पनि चुनावी माहोल तातेको छ। उक्त प्रकरणसँग सम्बन्धित विषयमा रवि लामिछाने को नाम जोडिएपछि पन्तमाथि नैतिक प्रश्न उठेको राजनीतिक विश्लेषकहरू बताउँछन्। पार्टी सभापतिमाथि लागेको आरोपको छायाँ उम्मेदवार पन्तसम्म पुगेको भन्दै मतदाताबीच असन्तोष बढिरहेको दाबी गरिएको छ।
स्थानीय मतदाताहरूका अनुसार आर्थिक अनियमिततासँग जोडिएका विषयमा स्पष्ट धारणा नआएसम्म सम्बन्धित दलप्रति विश्वास गर्न कठिन हुने अवस्था सिर्जना भएको छ। केही मतदाताले सार्वजनिक रूपमा नै विवादित छविसँग जोडिएको दललाई मत नदिने प्रतिबद्धता जनाइरहेका छन्।
यस्तो परिस्थितिमा उम्मेदवार पन्तले आफ्नै पार्टी नेतृत्वभन्दा बाह्य लोकप्रिय व्यक्तित्वको सहारा लिएर चुनावी अभियान अघि बढाउनु राजनीतिक अपरिपक्वताको संकेत भएको विपक्षी दलहरूको टिप्पणी छ। उनीमाथि उठेका प्रश्नहरूको स्पष्ट र पारदर्शी जवाफ नदिएसम्म मतदाताको विश्वास जित्न कठिन हुने देखिन्छ।
निर्वाचन नजिकिँदै जाँदा पन्तले आरोपहरूको कसरी सामना गर्छन् र मतदाताको विश्वास पुनः स्थापित गर्न कस्तो रणनीति अपनाउँछन् भन्ने विषयले पर्सा–१ को चुनावी परिणाममा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।