पर्सा । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–२ बहुअर्वाभाठामा महाशिवरात्रि पर्वको अवसरमा सञ्चालन हुने मेला तथा विशाल कुस्ती प्रतियोगिताको उद्घाटन गरिएको छ।
मधेश प्रदेशका पूर्व मन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले एक विशेष कार्यक्रमबीच मेलाको शुभारम्भ गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री क्षेत्रीले मेला केवल मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय संस्कृति र परम्परालाई जोगाइराख्ने महत्वपूर्ण सेतु भएको बताउनुभयो। उहाँले भन्नुभयो, “कुस्ती प्रतियोगिताले युवाहरूमा शारीरिक स्फूर्ति, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न मद्दत गर्नेछ।”
महाशिवरात्रि मेला समितिद्वारा आयोजित उक्त मेलामा कुस्ती प्रतियोगितासँगै भक्तजन तथा आगन्तुकहरूको मनोरञ्जनका लागि झुला, नाचगानलगायत विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
स्थानीय संस्कृति र परम्परालाई जीवन्त राख्दै समुदायमा उत्साह र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको मेलाले क्षेत्रभरि चहलपहल थप्ने अपेक्षा गरिएको छ।
विन्दवासिनी गाउँपालिका–२ का वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पकाहामैनपुर गाउँपालिका का अध्यक्ष सुरेश मेहता, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष पदका प्रत्याशी विवेक चौरसिया, वडा नं. १ का वडा अध्यक्ष अच्छेलाल महतो तथा अन्य स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
विन्दवासिनी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख रामप्रवेश साहले गर्नुभएको थियो।