वीरगञ्ज । निर्वाचनको संवेदनशील घडीमा शान्ति–सुरक्षा मजबुत बनाउनुपर्ने बेला इलाका प्रहरी कार्यालय छपकैया नै विवादको केन्द्रमा परेको छ। इलाका प्रहरी कार्यालय छपकैयाका इन्चार्ज मदन मल्लमाथि तस्करी नियन्त्रण गर्नुको साटो संरक्षण गरेको गम्भीर आरोप उठ्न थालेको छ।
स्थानीय स्रोतका अनुसार पछिल्ला दिनहरूमा वीरगञ्ज महानगरपालिकाको छपकैया क्षेत्रमा अवैध सामान ओसारपसार उल्लेख्य रूपमा बढेको छ। खुला सीमा र निर्वाचनको व्यस्ततालाई अवसरका रूपमा प्रयोग गर्दै तस्करी गतिविधि मौलाएको आरोप लागिरहेको छ। तर, नियन्त्रणका लागि खटिनुपर्ने प्रहरी संयन्त्र नै मौन देखिएको भन्दै सर्वसाधारण आक्रोशित छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन केन्द्रित रहेका बेला, मातहतको कार्यालयबाटै लापरवाही भएको गुनासो बढेको छ। छपकैया नाका हुँदै दैनिक रूपमा विभिन्न किसिमका अवैध वस्तु भित्रिने गरेको चर्चा बजारमा व्यापक छ।
अझ गम्भीर कुरा के छ भने, जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्च हेर्ने एक सईसँग निकट सम्बन्ध रहेको कारण इन्चार्ज मल्लमाथि कुनै कारबाही नहुने “अभेद्य संरक्षण” प्राप्त भएको हल्ला समेत फैलिएको छ। यद्यपि यस विषयमा आधिकारिक पुष्टि नभए पनि स्थानीय तहमा यो चर्चा चुलिँदै गएको छ।
प्रहरी संगठनभित्रको कथित आन्तरिक संरक्षण र राजनीतिक प्रभावका कारण तस्करी नियन्त्रणमा कमजोरी देखिएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। यदि आरोपहरूमा सत्यता छ भने यसले प्रहरी संगठनको विश्वसनीयतामाथि गम्भीर धक्का पुर्याउने निश्चित छ।
निर्वाचनजस्तो संवेदनशील समयमा सीमा क्षेत्रबाट हुने अवैध गतिविधि केवल राजस्व हानीको विषय मात्र होइन, समग्र सुरक्षा व्यवस्थामाथिको चुनौती पनि हो। त्यसैले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासीले उठाएका छन्।
कानुन कार्यान्वयन गर्ने निकायमाथि नै प्रश्न उठ्नु दुःखद अवस्था हो। यदि छपकैया नाकामा तस्करी मौलाएको हो भने त्यसको जिम्मेवारीबाट इन्चार्ज मल्ल उम्किन नसक्ने जनमत बढ्दै गएको छ।