वीरगञ्ज । निर्वाचनको संवेदनशील समयमा कानुनको पालना गराउनुपर्ने व्यक्तिहरूकै घरपरिवारबाट आचारसंहिताको खुला उल्लंघन भएको आरोपले वीरगञ्जको राजनीतिक वातावरण थप तातिएको छ। पर्सा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री प्रदीप यादव विरुद्ध नैतिकता र कानुनी प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठेको छ।
सरकारी सेवामा कार्यरत दुई शिक्षिका—वीरगञ्ज महानगरपालिका–४ स्थित सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय मा कार्यरत अन्नपूर्णा देवी मानन्धर र वडा नं. २२ मनियारीको नेपाल राष्ट्रिय आधारभूत विद्यालय की राहत शिक्षिका पिंकी यादव—खुला रूपमा चुनावी प्रचारमा संलग्न भएको विषय सार्वजनिक भएपछि प्रश्नहरूको वर्षा सुरु भएको हो। सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा उनीहरू पार्टीको झण्डा बोकेर मत माग्दै देखिन्छन्।
निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता २०८२’ ले सरकारी कर्मचारी, शिक्षक तथा राष्ट्रसेवकलाई प्रत्यक्ष वा परोक्ष रूपमा चुनाव प्रचारमा संलग्न हुन कडाइका साथ निषेध गरेको छ। तर, कानुनको यही स्पष्ट प्रावधानलाई बेवास्ता गर्दै शिक्षिकाद्वयको सक्रियता देखिनुले राज्य संयन्त्रप्रतिको विश्वासमै धक्का पुगेको स्थानीयको भनाइ छ।
झन् विडम्बना त के भने, स्वयम् पूर्वमन्त्री यादवले नै विगतमा सुशासन र विधिको शासनको पक्षमा ठूला भाषण गर्दै आएका थिए। तर आफ्नै परिवारका सदस्य कानुनविपरीत गतिविधिमा संलग्न हुँदा मौन बस्नुले उनको दोहोरो चरित्र उजागर भएको आरोप लाग्न थालेको छ। सत्ता र पदका लागि पार्टी परिवर्तन गर्दै चुनावी मैदानमा उत्रिएका यादवमाथि “नैतिक धरातल कमजोर” भएको टिप्पणी समेत हुन थालेको छ।
शिक्षक जस्तो मर्यादित पेशामा आवद्ध व्यक्तिहरू राजनीतिक प्रचारमा सक्रिय हुनु केवल व्यक्तिगत आचरणको विषय मात्र होइन, सम्पूर्ण शैक्षिक वातावरण र राज्य सेवाको निष्पक्षतामाथिको प्रश्न हो। यदि कानुन सबैका लागि समान हो भने प्रभावशाली व्यक्तिका परिवारमाथि पनि उस्तै कारबाही हुनुपर्ने जनमत बलियो बन्दै गएको छ।
वीरगञ्जका सर्वसाधारण भन्छन्—“कानुनको सम्मान घरबाटै सुरु हुनुपर्छ।” यदि उम्मेदवार र उनका निकटजनले नै आचारसंहिता बेवास्ता गर्छन् भने उनीहरूबाट भविष्यमा सुशासनको अपेक्षा कसरी गर्न सकिन्छ?
यस घटनाले स्पष्ट सन्देश दिएको छ—निर्वाचन केवल मतको प्रतिस्पर्धा मात्र होइन, नैतिकताको पनि परीक्षा हो। र यही परीक्षामा पूर्वमन्त्री यादव चुकिरहेका छन् भन्ने आरोप अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ।