वीरगञ्ज । निर्वाचनको संवेदनशील घडीमा सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने अवस्थामा श्रीसिया नाका पुनः विवादको केन्द्रमा परेको छ। नेपाल प्रहरी मातहतको प्रहरी चौकी श्रीसियाका इन्चार्ज वरिष्ठ सई श्यामबाबु यादवमाथि तस्करी नियन्त्रण गर्नुको साटो संरक्षण दिएको गम्भीर आरोप स्थानीयस्तरमा उठ्न थालेको छ।
स्थानीय स्रोतका अनुसार भारतसँग सीमा जोडिएको रक्सौल बजारबाट किनिएका विभिन्न उपभोग्य सामग्री तथा कपडाजन्य सामान कोनिया गाउँ हुँदै आईसीपी छेउको भित्री बाटो प्रयोग गरी नेपाल भित्र्याइने क्रम पछिल्लो समय तीव्र बनेको छ। खुला सीमा र निर्वाचनको व्यस्ततालाई अवसरका रूपमा प्रयोग गर्दै अवैध ओसारपसार मौलाएको आरोप छ।
विशेषगरी राति ८ बजेपछि गतिविधि झन् सक्रिय हुने गरेको स्थानीयवासीको दाबी छ। महिलाहरूलाई भरिया बनाइ ठूलो परिमाणमा सामान बोकाएर ल्याइने तथा पुरुषहरूले मोटरसाइकल, ठेला र साइकल प्रयोग गरी सामान नेपाल भित्र्याउने गरेको आरोप लागिरहेको छ। सीमावर्ती क्षेत्रमा यस्तो गतिविधि खुलेआम भइरहँदा नियन्त्रणमा खटिनुपर्ने सुरक्षा निकाय मौन बसेको भन्दै सर्वसाधारण आक्रोशित छन्।
स्रोतहरूका अनुसार तस्करीमा संलग्न समूहहरू निर्धक्क रूपमा आवतजावत गरिरहेका छन्। कतिपय स्थानीयले प्रहरीसँग मिलेमतो भएको आशंका व्यक्त गरेका छन्। आधिकारिक पुष्टि नभए पनि चौकी स्तरमै संरक्षण प्राप्त भएको चर्चा व्यापक बन्दै गएको बताइन्छ।
पर्सा जिल्लामध्ये सबैभन्दा बढी तस्करी हुने सीमानाकामध्ये श्रीसिया नाका अग्रस्थानमा पर्ने गरेको दाबी गरिन्छ। प्रहरी वृत्तमै उक्त चौकीमा दरबन्दी र सरुवामा केन्द्रसम्मको शक्ति तथा आर्थिक चलखेल हुने चर्चा सुनिनु थप चिन्ताको विषय बनेको छ।
यसैबीच, पर्सा जिल्लाका प्रहरी प्रमुख सुदिप राज पाठक बिदामा रहेको अवसर छोपेर अहिले तस्करी गतिविधि झन् निर्बाध रूपमा सञ्चालन भइरहेको आरोप स्थानीयले लगाएका छन्। यदि यी आरोप सत्य ठहरिए, यसले सीमा सुरक्षा मात्र होइन, समग्र शान्ति–सुरक्षामाथि नै गम्भीर प्रश्न खडा गर्नेछ।
निर्वाचनजस्तो संवेदनशील समयमा सीमा क्षेत्रबाट हुने अवैध गतिविधि केवल राजस्व चुहावटको विषय होइन, राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर सवाल हो। कानुन कार्यान्वयन गर्ने निकायमाथि नै प्रश्न उठ्नु दुःखद अवस्था हो। त्यसैले सम्बन्धित निकायले निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासीले उठाएका छन्।