वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोलीले पर्सामा ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय पोखरिया मातहतको प्रहरी तथा सशस्त्र प्रहरी बलको बीओपी पकहाँ मैनपुरको संयुक्त टोलीले सोमबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा एक क्विन्टल २८ किलो गाँजा बरामद गरेको हो।
पर्साको पकहाँमैनपुर गाउँपालिका–मधुवनी चोकतर्फ आउँदै गरेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कारलाई रोकि जाँच गर्दा कार चालक बुद्धिलाल घलानसहित उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ परेका घलानको साथबाट नगद रु २२ हजार ५०० तथा रियलमी कम्पनीको एक थान स्मार्टफोनसमेत बरामद गरिएको छ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरीक्षक प्रदीप पौडेलले संयुक्त सुरक्षा संयन्त्रको सक्रियताका कारण ठूलो परिमाणमा लागुऔषध नियन्त्रण गर्न सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रणका लागि प्रहरी निरन्तर सतर्क र प्रतिबद्ध छ। समुदायको सहयोग र सूचनाका आधारमा यस्ता अवैध गतिविधिमाथि प्रभावकारी रूपमा कारबाही गरिँदै आएको छ। भविष्यमा पनि यस्ता अभियान अझ सशक्त रूपमा अघि बढाइनेछ।”
गाँजासहित पक्राउ परेका चालक घलानविरुद्ध थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालत वीरगञ्जबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो।
प्रहरीले लागुऔषध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि जिल्लाभर विशेष निगरानी तथा चेकजाँच अभियानलाई तीव्र बनाएको जनाएको छ।