वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले पर्सा जिल्लाको सुरक्षा कमाण्ड सम्हाल्न एसपी नरेशराज सुवेदीलाई अस्थायी रूपमा खटाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एसपी सुदीपराज पाठकका बुबाको निधन भएपछि उहाँ बिदामा बस्नुपर्ने अवस्था सिर्जना भएको हो। सोही कारण जिल्लाको सुरक्षा नेतृत्व निरन्तर र प्रभावकारी बनाइराख्न सुवेदीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
एसपी सुवेदी हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेका थिए। निर्वाचनको संवेदनशील समयमा जिल्ला निमित्तको भरमा मात्र सुरक्षा व्यवस्थापन गर्दा समस्या उत्पन्न हुन सक्ने देखिएकाले अनुभवी अधिकृतलाई खटाइएको स्रोतको भनाइ छ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाइएको छ।