वीरगंज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यही बीच राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेका रामाकान्त चौरसिया विरुद्ध विभिन्न प्रश्नहरू उठ्न थालेका छन्।
चौरसियामाथि आफ्नै स्पष्ट एजेन्डा प्रस्तुत गर्न नसकेको आरोप लागेको छ। स्थानीयस्तरमा मतदाता भेटघाटका क्रममा ठोस विकास योजना, रोजगारी सिर्जना र पूर्वाधार विस्तारबारे स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न नसकेको भन्दै विपक्षी दलहरूले उनलाई “एजेन्डाविहीन उम्मेदवार”को संज्ञा दिएका छन्।
त्यसमाथि, जिल्लामा चर्चामा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणले पनि चुनावी माहोल तताएको छ। उक्त प्रकरणसँग रवि लामिछाने को नाम जोडिएपछि पार्टीको छविमाथि प्रश्न उठेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार पार्टी सभापतिमाथि लागेको आरोपको छायाँ उम्मेदवार चौरसियासम्म पुगेको देखिन्छ। यस विषयमा स्पष्ट धारणा नआएसम्म मतदाताको विश्वास कायम गर्न कठिन हुने स्थानीय जानकारहरूको भनाइ छ।
यसैबीच, चौरसियाको व्यक्तिगत व्यावसायिक पृष्ठभूमि पनि विवादको केन्द्रमा आएको छ। उनी ठेकेदारसमेत हुन् र भालुवाही खोलाको पुल निर्माणका लागि ठेक्का लिएको तथ्य सार्वजनिक छ। तर १७ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन नसकेको विषयले स्थानीयवासीमा आक्रोश बढाएको छ। वर्षौंदेखि अधुरो रहेको पुलका कारण आवतजावतमा समस्या झेल्दै आएका सर्वसाधारणले ठेकेदारको हैसियतमा समयमै काम सम्पन्न गर्न नसक्ने व्यक्तिले सांसद बनेपछि विकास निर्माणमा प्रतिवद्धता पूरा गर्ने कुरामा कसरी विश्वास गर्ने भन्ने प्रश्न उठाएका छन्।
स्थानीय मतदाताहरूका अनुसार विकासका नाममा ठेक्का लिएर काम अलपत्र पार्ने प्रवृत्तिले जनविश्वासमा गम्भीर क्षति पुर्याएको छ। अधुरा योजनाहरूको जवाफ नदिई केवल चुनावी भाषणमार्फत मत माग्नु जनतालाई भ्रममा पार्ने प्रयास भएको आरोपसमेत लागेको छ।
निर्वाचन नजिकिँदै जाँदा चौरसियामाथि उठेका सहकारी प्रकरण र अपूरो पुल निर्माण सम्बन्धी प्रश्नहरूको पारदर्शी र विश्वसनीय जवाफ नआएसम्म मतदाताको मन जित्न कठिन हुने देखिन्छ। पर्सा–३ को चुनावी परिणाममा यी विवादहरूले निर्णायक प्रभाव पार्ने राजनीतिक वृत्तमा चर्चा छ।