वीरगञ्ज। भूमि सुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीमाथि कालोमोसो दल्ने तथा कुटपिट गर्ने धम्की दिएको आरोपमा लेखापढी व्यवसायी ओमप्रकाश यादव विवादमा परेका छन्। धम्कीपछि कार्यालय प्रमुख खत्री नेपाली प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच नियमित कामकाज गर्न बाध्य भएको जनाइएको छ।
कार्यालय स्रोतका अनुसार, शुभलाभ लेखापढी भू–सेवा केन्द्रमा कार्यरत यादवले वीरगञ्ज महानगरपालिका–२५, खलवाटोला (सिर्सिया) स्थित कित्ता नं. २६४ को ४ कठ्ठा ३ धुर जग्गा भारतका नागरिक अनिल कुमारको नाममा तुरुन्त नामसारी नगरे कालोमोसो दल्ने र कुटपिट गर्ने धम्की दिएका थिए। सो जग्गा भारत, बिहारको रक्सौल निवासी देवनारायण साहको नाममा दर्ता कायम रहेको र आवश्यक छानबिन तथा कानुनी प्रक्रिया पूरा नगरी नामसारी गर्न नमिल्ने स्पष्ट पार्दा यादव आक्रोशित भएको प्रमुख खत्रीको भनाइ छ।
प्रमुख खत्रीका अनुसार, सम्भावित अन्य हकदारको हक सुनिश्चित गर्न राष्ट्रिय दैनिकमा ३५ दिने सूचना प्रकाशन गर्न सुझाव दिँदा यादवले फोन तथा कार्यालयमै उपस्थित भई कर्मचारीहरूको अगाडि गालीगलौज र दबाब दिएको आरोप छ। घटनाबारे जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहाललाई जानकारी गराइएपछि कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।
यादवसँगै वीरगञ्ज महानगरपालिका–२६ का वडाध्यक्ष शम्भु मिश्रले समेत उक्त जग्गा अनिल कुमारको नाममा नामसारी गर्न दबाब दिएको र अस्वीकार गरेपछि अपमानजनक व्यवहार गरेको दाबी कार्यालय प्रमुखको छ। साथै, आफूले भनेअनुसार काम नगरेको भन्दै केही पत्रपत्रिका तथा अनलाइनमार्फत भ्रामक र मानहानिपूर्ण सामग्री प्रकाशन गराउने प्रयास भएको उल्लेख गर्दै प्रमुख खत्रीले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दर्ता गराएका छन्।
यता, आरोपित लेखापढी व्यवसायी यादवले भने आफूले कुनै धम्की नदिएको दाबी गरेका छन्। उल्टै कार्यालय प्रमुखले नै दुर्व्यवहार गरेको र त्यसको फोन रेकर्ड आफूसँग सुरक्षित रहेको उनको भनाइ छ।
उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले यादवलाई सोधपुछका लागि बोलाएको थियो। सोधपुछपछि उनलाई छाडिएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनाले सरकारी कार्यालयमा अनावश्यक दबाब र धम्कीको प्रवृत्ति बढ्दै गएको संकेत गरेको स्थानीय सरोकारवालाहरू बताउँछन्। कानुनी प्रक्रिया र प्रमाणका आधारमा मात्र नामसारीजस्ता संवेदनशील कार्य अघि बढाउनुपर्ने माग समेत उठ्न थालेको छ।