वीरगञ्ज । लायन्स इन्टरनेशनलको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड यस वर्ष लायन्स क्लब अफ वीरगञ्जका पुर्व अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन प्रकाश बाहेतीलाई प्रदान गरिएको छ । विश्वभरका उत्कृष्ट लायन्स लिडरहरूलाई दिइने यो एवार्ड नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता तथा समुदायमा पुर्याएको सेवाका आधारमा प्रदान गरिन्छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको हेटौंडामा आयोजित तेस्रो डिष्ट्रिक्ट क्याबिनेट मिटिङ्ग एवं एवार्ड वितरण समारोहमा बाहेतीलाई उक्त एवार्ड प्रदान गरिएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका संस्थापक डिष्ट्रिक्ट गभर्नर लायन अमर बहादुर श्रेष्ठले बाहेतीलाई इन्टरनेशनल लिडरसिप एवार्ड प्रदान गर्दै बाहेतीको निरन्तर सेवा भावना, दिगो नेतृत्व तथा सामाजिक कल्याणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले बाहेतीको नेतृत्व शैली, सहयोगी स्वभाव र युवा सदस्यहरूलाई प्रेरित गर्ने क्षमताकै कारण उनलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान प्राप्त भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।
लायन प्रकाश बाहेती लामो समयदेखि स्वास्थ्य, शिक्षा, दृष्टि संरक्षण, रक्तदान, दैवी विपद् राहत तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहेका छन् । उनले सञ्चालन गरेका विभिन्न परियोजनाहरूले स्थानीय समुदायमा प्रत्यक्ष प्रभाव पारेको र लायन्स क्लबका सदस्यहरूलाई सेवा कार्यमा अझ सक्रिय बनाएको बताइएको छ । एवार्ड ग्रहण गर्दै बाहेतीले आफूलाई प्रदान गरिएको यो अन्तर्राष्ट्रिय सम्मान सम्पूर्ण लायन्स परिवारको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, “यो सम्मानले जिम्मेवारी अझ थपिएको छ ।”
उनलाई लायन्स इन्टरनेशनल प्रेसिडेन्ट पिन, डिष्ट्रिक्ट गभर्नर प्रशंसा पदक र डिसेम्बर महिनाको लायन अफ द मन्थ एवार्डबाट समेत सम्मानित गरिएको छ ।