वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालमा आएको विभाजन र पछिल्लो राजनीतिक समीकरणले पर्सा जिल्लामा ठूलो फेरबदल ल्याएको छ। यस परिस्थितिमा उद्यमीबाट राजनीतिमा होमिएका नेता अशोक टेमानी सबैभन्दा चेपुवामा परेका देखिन्छन्। जसपा नेपालको बलियो आधारमा टेकेर आगामी निर्वाचन जित्ने उनको रणनीतिक योजना अहिले बालुवाको महल साबित भएको छ।
टेमानीले आफ्नो निर्वाचन क्षेत्रको मुख्य आधारस्तम्भका रूपमा पर्सागढी क्षेत्रलाई रोजेका थिए। सो क्षेत्रको कमान्ड उनले आफ्ना विश्वासपात्र सुरज मनन्धरलाई सुम्पेका थिए। मनन्धरकै सक्रियतामा त्यस क्षेत्रमा दुई पटकसम्म ठूलो शक्ति प्रदर्शन र संगठन सुदृढीकरणका कार्यक्रमहरू भएका थिए। टेमानीले तिनै भेला र मनन्धरले तयार पारेको सञ्जाललाई आफ्नो 'भोट बैंक' ठानेर ढुक्क देखिएका थिए।
टेमानीका लागि सबैभन्दा ठूलो दुर्भाग्य तब बन्यो, जब उनका मुख्य रणनीतिकार सुरज मनन्धरले अप्रत्याशित रूपमा जसपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरे। मनन्धरको यो कदमले टेमानीको राजनीतिक जग नै हल्लाईदिएको छ।