वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटा अहिले रोजगारी सृजनाको नारा लिएर घरदैलोमा सक्रिय देखिन्छन्। उद्योग सञ्चालन, लगानी विस्तार र युवालाई अवसर दिने आश्वासन उनका प्रमुख चुनावी भाषण बनेका छन्। तर, वास्तविकता भने मतदाताको अपेक्षासँग मेल खाँदैन।
स्थानीय स्रोतका अनुसार, उनको उद्योगमा भारतीय कामदारको उल्लेख्य उपस्थिति छ। स्वदेशी युवालाई रोजगारी दिने प्रतिबद्धता जनाउँदै मत माग्ने तर व्यवहारमा विदेशी श्रमिकलाई प्राथमिकता दिने प्रवृत्तिले उम्मेदवारको विश्वसनीयतामा प्रश्न उठाएको छ।
विशेषज्ञहरूको भनाइ अनुसार उद्योगको मुख्य उद्देश्य नाफा मात्र हो र स्थानीय जनशक्तिको क्षमतामाथि ध्यान नदिँदा त्यसलाई सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय भन्न सकिँदैन। पर्सा जस्तो सीमावर्ती जिल्लामा बेरोजगारी र वैदेशिक रोजगारीको बाध्यता उच्च रहेको अवस्थामा स्वदेशी युवालाई अवसर नदिँदा समस्या थप गम्भीर बन्ने खतरा छ।
चुनावी माहोलमा भावनात्मक भाषण र आकर्षक वाचा अस्वाभाविक होइन, तर मतदाता अब केवल आश्वासनले मात्र प्रभावित हुँदैनन्। विगतमा उद्योग सञ्चालन गर्दा स्थानीय युवालाई प्राथमिकता दिन नसकिएको तथ्यलाई ध्यानमा राख्दा अहिलेको रोजगारी नारा कति विश्वसनीय छ भन्ने प्रश्न उठ्छ।
राजनीति सेवा र उत्तरदायित्वको क्षेत्र हो। उद्यमशीलता र लगानी स्वागतयोग्य भए पनि त्यसको प्रतिफल स्थानीय समाजले अनुभूति गर्न पाउनु आवश्यक छ। अन्यथा, रोजगारी सृजनाको नारा केवल चुनावी रणनीतिमा सीमित रहनेछ।
पर्सा–१ का मतदाताले अब भाषण र व्यवहारबीचको असमानता मूल्यांकन गर्ने बेला आएको छ। विकास र रोजगारीको दाबी गर्ने उम्मेदवारले पहिले आफ्नो कार्यशैलीमा पारदर्शिता र स्थानीय प्रतिबद्धता देखाउनुपर्छ, नत्र जनताको विश्वास गुम्ने खतरा कायम रहनेछ।