वीरगञ्ज । नेकपा (एमाले) का युवा नेता एवं पूर्व मधेश प्रदेश कमिटी सदस्य सञ्जीव मिश्रले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको छ। करिब १५ वर्षदेखि एमालेमा आबद्ध रहेर विभिन्न जिम्मेवारी सम्हाल्नुभएका मिश्रले आज एक प्रेस नोट जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिनुभएको हो।
एमालेको संगठन निर्माणमा लामो समय खर्चिनुभएका मिश्रले यसअघि पार्टीको युवा फाँट, जिल्ला कमिटी सदस्य, उप–सचिव र मधेश प्रदेश कमिटी सदस्य जस्ता महत्त्वपूर्ण पदहरूमा रहेर काम गरिसक्नुभएको छ।
पार्टी छोड्ने निर्णय लिँदै मिश्रले यो कदम आफ्नो राजनीतिक जीवनको एउटा महत्त्वपूर्ण मोड भएको बताउनुभएको छ। उहाँले भन्नुभएको छ:
"१५ वर्षसम्म पार्टी, विचार र संगठनका लागि इमानदारीपूर्वक योगदान दिएँ। तर, बदलिँदो समय, आफ्नो राजनीतिक सोच र आत्मसम्मानलाई मध्यनजर गर्दै आजबाट एमालेसँगको यात्रा टुङ्ग्याउने निर्णयमा पुगेको छु।"
आफ्नो लामो राजनीतिक यात्रामा सहयोग गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आभार प्रकट गर्दै मिश्रले आगामी दिनमा पनि जनताको हित र सत्यको राजनीतिमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ।
मिश्रको यो घोषणासँगै उहाँको आगामी राजनीतिक यात्रा कुन दिशामा अघि बढ्छ भन्ने विषयमा चासो बढेको छ।