वीरगञ्ज । पर्सा–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त प्रसाद चौरसिया पछिल्ला दिनमा चुनावी प्रतिस्पर्धामा कमजोर देखिन थालेको चर्चा बढ्दै गएको छ। प्रारम्भिक चरणमा ‘घण्टी’ चुनाव चिह्नको प्रभावले केही चर्चा पाए पनि वर्तमान अवस्थामा उनी अन्य दलका उम्मेदवारहरूको तुलनामा ओझेलमा परेको विश्लेषण स्थानीय स्तरमा हुन थालेको छ।
विशेषगरी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आक्रामक प्रचार–प्रसार, घरदैलो अभियान र पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएपछि चुनावी समीकरण फेरिएको आकलन गरिएको छ। ती दलका उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउँदै एजेन्डामुखी बहस अघि सारेका छन् भने रास्वपा पक्ष अपेक्षाकृत निष्क्रिय देखिएको आरोप लागिरहेको छ।
रास्वपाकै एक नेताले अनौपचारिक रूपमा वर्तमान अवस्थाले निरन्तरता पाए चौरसियाको मताधार खस्किन सक्ने चिन्ता व्यक्त गरेको बताइन्छ। केही स्थानीय विश्लेषकहरूका अनुसार कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीभन्दा समेत चौरसियाको स्थिति कमजोर हुन सक्ने आँकलन गर्न थालिएको छ।
यता, अन्य उम्मेदवारहरूको सक्रियता बढिरहँदा चौरसियाको अभियान भने अपेक्षाअनुसार जनतामाझ पुग्न नसकेको टिप्पणी सुनिन्छ। गैरराजनीतिक क्षेत्रका व्यक्तिहरूबाट समेत उनको प्रचार शैली, खर्चको प्रदर्शन र केही व्यक्तिसँगको निकटताबारे प्रश्न उठाइएको छ। विगतका निर्वाचनमा अस्वीकृत भइसकेका व्यक्तिहरूसँगको सहकार्यले पनि मतदातामा सकारात्मक सन्देश नपुगेको एक स्थानीय कार्यकर्ताको दाबी छ।
पर्सा–३ मा प्रतिस्पर्धा दिनप्रतिदिन कसिँदै जाँदा रास्वपा उम्मेदवारले आफ्नो रणनीति परिमार्जन नगरे प्रभाव थप खुम्चिन सक्ने विश्लेषकहरूको निष्कर्ष छ। चुनावी परिणाम के आउँछ भन्ने कुरा भविष्यले तय गर्ने भए पनि वर्तमान संकेतहरू भने चौरसियाका लागि सहज देखिँदैनन्।