वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)को उम्मेदवार चयन प्रक्रियालाई लिएर पार्टीभित्रै आलोचना तीव्र बन्दै गएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य मोहमद निजामले पर्सा–१ का केही स्थापित नेताहरूको राजनीतिक हैसियतप्रति नै प्रश्न उठाएका छन्।
निजामले पर्सा–१ मा सक्रिय पूर्व समानुपातिक सांसद तथा केन्द्रीय सदस्य प्रभु हजरा, केन्द्रीय सदस्यद्वय निर्मला देवकोटा , विजय सरावगी , मधेश प्रदेश उपाध्यक्ष विचारी यादव तथा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा जस्ता नेताहरूको योगदान र प्रभावलाई नेतृत्वले बेवास्ता गरेको प्रसंग उठाउँदै, उनीहरू लामो समयदेखि पार्टीमा रहेर विभिन्न पद सम्हाले पनि जनमतका आधारमा प्रत्यक्ष चुनाव जित्ने हैसियत निर्माण गर्न नसकेको दाबी गरे।
उनका अनुसार पद र जिम्मेवारी पाउनु मात्र पर्याप्त नभई जनाधार, संगठन क्षमता र चुनावी प्रतिस्पर्धामा उत्रिन सक्ने सामर्थ्य पनि आवश्यक हुन्छ। “वर्षौंदेखि पदमा बसेर पनि जनतामाझ बलियो उपस्थिति देखाउन नसक्नु नेतृत्वको कमजोरी हो,” निजामको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
निजामले थप दाबी गरे कि पर्सा–१ मा एमालेसँग आफ्नै संगठनभित्र सक्षम र हैसियतदार उम्मेदवार नभएकै कारण अन्ततः बाहिरबाट नेता भित्र्याएर टिकट दिनुपर्ने अवस्था सिर्जना भएको हो। उनका अनुसार यही पृष्ठभूमिमा पूर्व मन्त्री प्रदीप यादवलाई पार्टीमा प्रवेश गराई उम्मेदवार बनाइएको हो।
उनले यसलाई संगठनात्मक कमजोरीको परिणामको रूपमा चित्रण गर्दै भने, “यदि आफ्नै पार्टीभित्र जनाधार भएका नेताहरू तयार गर्न नसकिने हो भने बाहिरबाट उम्मेदवार ल्याउनु बाध्यता बन्छ, तर यसले पार्टीको दीर्घकालीन छविमा नकारात्मक असर पार्छ।”
पार्टीभित्रैबाट आएको यस्तो कडा अभिव्यक्तिले पर्सा–१ मा एमालेको आन्तरिक एकता, नेतृत्व क्षमता र चुनावी रणनीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ। आगामी निर्वाचनमा यसले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।