वीरगञ्ज । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मोहमद मेराज पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)की उम्मेदवार रीमा यादवलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा जुटेका छन्।
घरदैलो, टोलसभा र युवासँगको अन्तरक्रियामा व्यस्त मेराजले पर्सा–२ मा विकास, सुशासन र युवामैत्री नीति कार्यान्वयनका लागि रीमा यादव सक्षम र दृढ उम्मेदवार भएको बताएका छन्। उनले युवाहरूलाई सकारात्मक परिवर्तनका लागि संगठित हुन आह्वान गर्दै भने, “रीमा यादव नेतृत्व, इमानदारी र जनतासँगको नजिकको सम्बन्धका कारण यस क्षेत्रको भरोसायोग्य विकल्प हुनुहुन्छ। उहाँको जित पर्सा–२ को समग्र विकास र युवाको भविष्यसँग जोडिएको विषय हो।”
मेराजका अनुसार, एमालेको संगठनात्मक शक्ति र जनआधारले पर्सा–२ मा उत्साहजनक माहोल सिर्जना गरेको छ। उनले चुनावलाई केवल प्रतिस्पर्धा नभई नीतिगत बहस र विकासको दिशामा जनमत संकलनको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
उनले थपे, “हामी सकारात्मक एजेन्डा, स्पष्ट योजना र जनताप्रतिको उत्तरदायित्वका आधारमा मत मागिरहेका छौं। पर्सा–२ का मतदाताले विकास, स्थायित्व र सुशासनका पक्षमा निर्णय गर्नुहुनेमा हामी विश्वस्त छौं।”
युवा संघका कार्यकर्ता तथा एमाले समर्थकहरू अहिले गाउँ–टोलमा सक्रिय रूपमा परिचालित भएका छन्। चुनाव नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक सरगर्मी बढेको देखिएको छ।