पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटी सदस्य तथा पूर्व पकाहाँ मैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसियामाथि दोहोरो राजनीतिक भूमिका खेलेको आरोप लागेको छ। आफू सार्वजनिक रूपमा एमालेसँग आबद्ध रहे पनि घरपरिवार र निकटजनलाई भने ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न मौखिक निर्देशन दिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार रामाकान्त चौरसिया प्रतिस्पर्धामा रहेका छन्। स्रोतका अनुसार विजय चौरसियाको परिवारका अधिकांश सदस्यहरू खुला रूपमा नै रामाकान्त चौरसियाको पक्षमा देखिएका छन्।
स्थानीय स्रोतको दाबीअनुसार, विजय चौरसियाले आफ्ना नजिकका व्यक्तिहरूलाई गोप्य रूपमा ‘घण्टी’मा मतदान गर्न सर्कुलर नै जारी गरेको आरोप छ। यद्यपि, यसबारे उनको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
यसैबीच, पकाहाँ निवासी नेपाली कांग्रेसका स्थानीय नेता मदन चौरसियासँगको पारिवारिक सम्बन्धलाई पनि यस प्रकरणसँग जोडेर हेरिएको छ। स्रोतका अनुसार, मदन चौरसियाका ज्वाइँ पर्ने रामाकान्त चौरसियालाई मत दिने विषयमा गोप्य सहमति भएको दाबी गरिएको छ।
एमालेको जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो गतिविधि भएको चर्चा बाहिरिएसँगै स्थानीय तहमा राजनीतिक तरंग पैदा भएको छ। यदि आरोपहरू पुष्टि भएमा यसले पार्टीभित्र नै नैतिक प्रश्न उठ्ने विश्लेषकहरूको भनाइ छ।