धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले आफू राष्ट्रिय सभा सदस्य भएपछि छोरी डा. मीनाक्षी झालाई राजनीतिमा उतारेका छन्। आफूले पटक-पटक जितेको महोत्तरी-३ मा उनले छोरी मीनाक्षीलाई उम्मेदवार बनाएका हुन्।
८० वर्ष कटिसकेका ठाकुरले आफ्नो उत्तराधिकारीका रूपमा छोरीलाई राजनीतिमा प्रवेश गराएका हुन्। छोरीलाई चुनाव जिताउन ठाकुर स्वयं महोत्तरीको जलेश्वरस्थित एक होटलमा डेरा जमाएर बसेका छन्।
स्वास्थ्यका कारण क्षेत्रमा हिँडडुल गर्न नसके पनि उनी आफू बसेकै ठाउँबाट नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गरी छोरीको पक्षमा माहोल बनाइरहेका छन्। महोत्तरी-३ बाट दुईपटक चुनाव जितेका ठाकुरले आफ्नो सम्पूर्ण राजनीतिक शक्ति सोही क्षेत्रमा लगाएका छन्।
उनले सो क्षेत्रबाट प्रदेशदेखि केन्द्रसम्म पटक-पटक मन्त्री बनाउनुका साथै आफ्ना हरेक कार्यक्रम पनि त्यहीँ केन्द्रित गर्दै आएका छन्। उनको क्षेत्र कहिल्यै मन्त्रीविहीन रहेन।
प्रदेश होस् या केन्द्र, त्यहाँबाट कोही न कोही मन्त्री बन्थे नै। अहिले मधेस प्रदेश सरकारमा मन्त्री रहेकी रानी शर्मा तिवारी पनि सोही क्षेत्रकी हुन्। विगतका स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनको आँकडा हेर्ने हो भने महोत्तरी-३ मा जसपा नेपाल नै बलियो देखिन्छ।
तर, ठाकुरकी छोरी भएकै भरमा टिकट पाएको र राजनीतिमा खासै भूमिका नभएका कारण मीनाक्षी कमजोर हुन सक्ने आँकलन भइरहेको छ। पेसाले डाक्टर रहेकी उनी सामाजिक काममा सक्रिय भए पनि राजनीतिमा योगदान नभएकाले पार्टीभित्रै असन्तुष्टि छ।
मीनाक्षीले टिकट पाएपछि विगतदेखि चुनाव लड्दै आएका जसपा नेता हरिनारायण यादवले असन्तुष्ट हुँदै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्। यादव भन्छन्, ‘पार्टीमा मीनाक्षीको कुनै योगदान नै छैन, अहिलेसम्म साधारण सदस्यता पनि लिनुभएको छैन। तर, संरक्षक ठाकुरले आफ्नै छोरी भएका नाताले जबर्जस्ती उम्मेदवार बनाउनुभयो। यहाँका जनताले यो कुरा राम्रोसँग बुझेका छन् र चुनावमा यसको हिसाबकिताब गर्नेछन्।’
यद्यपि, जसपा नेपालका नेता डा. सुरेन्द्र झाले मीनाक्षीको अवस्था धेरै राम्रो रहेको दाबी गरे। हरिनारायण यादवको उम्मेदवारीले पार्टीलाई कुनै फरक नपर्ने उनको भनाइ छ। ‘पार्टीको पुरानो नेता भएका कारण केही मत काट्लान्, त्यो बेग्लै कुरा हो। तर, उनी निर्णायक हुन सक्दैनन्,’ उनले भने, ‘हरेक हिसाबले महोत्तरी-३ मा जसपा नेपाल बलियो छ, त्यसैले चुनाव जित्ने लगभग निश्चित छ।’ ठाकुर आफैँ महोत्तरीमा रहेर चुनावी अभियानको नेतृत्व गरिरहेको बताउँदै झाले प्रतिस्पर्धामा दोस्रो स्थानमा कांग्रेस र त्यसपछि मात्रै अन्य दल रहेको दाबी गरे।
सो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ४१ जना उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ नेपाली कांग्रेसका बजरङ्ग नेपाली, एमालेका मनोज सिंह, जसपाकी मीनाक्षी झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्वल झा र स्वतन्त्र उम्मेदवार रामआधार कापरबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
उम्मेदवारी दर्ता गराउने दिन भएको दल फेरबदलका कारण कतिपय उम्मेदवार कमजोर देखिएको राजनीतिक मामिलाका जानकार ध्रुव राय बताउँछन्। उनी भन्छन्, ‘जसपाबाट टिकट नपाएपछि हरिनारायणजी स्वतन्त्र उठ्नुभएको छ, पक्कै पनि त्यसको असर जसपाकै उम्मेदवारलाई पर्छ।’ एमालेबाट टिकट नपाएपछि रामआधार कापर पनि स्वतन्त्र उठेका छन्, जसले एमालेको भोट काट्न सक्छ।
प्रायः हरेक चुनावमा उम्मेदवार बन्दै आएका रामआधार कापर अन्तिम समयमा एमालेको टिकटबाट वञ्चित भएका थिए। उनी भन्छन्, ‘पार्टीबाट मेरो एकल सिफारिस भएको थियो तर अन्तिममा मलाई टिकट किन दिइएन, थाहा भएन। तर, महोत्तरी-३ का जनता मेरो पक्षमा रहेकाले मेरो जित निश्चित छ।’
मीनाक्षीका लागि अर्को चुनौती नेपाली कांग्रेस बनेको छ। २०७४ र २०७९ को निर्वाचनमा महन्थ ठाकुरलाई सघाएका कांग्रेस नेता बजरङ्ग नेपाली आफैँ उम्मेदवार बनेपछि ठाकुर बाबुछोरीलाई चुनौती थपिएको हो। कांग्रेस सभापति गगन थापा सर्लाहीबाट चुनाव लडेपछि मधेसमा कांग्रेसको माहोल पनि राम्रो बनेको छ, जसको फाइदा बजरङ्गलाई पुग्न सक्ने देखिन्छ।
रास्वपाबाट उम्मेदवार बनेका उज्ज्वल झा यसअघि जसपा नेपालमै थिए। जसपाबाट टिकट नपाएपछि उनी रास्वपा प्रवेश गरेर चुनावमा होमिएका हुन्। मधेसमा पनि रास्वपाको प्रभाव बढिरहेकाले उज्ज्वललाई कम आँक्न नमिल्ने स्थानीय मतदाताहरू बताउँछन्। काठमाडौँका पूर्मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुर्ख्यौली गाउँ एकडाराकै बासिन्दा हुन्, उज्ज्वल झा।
महोत्तरी-३ मा कुल १ लाख १० हजार ४ सय ३६ मतदाता रहेका छन्।
सम्भार : रातोपाटी