वीरगञ्ज । नेकपा एमाले पर्सामा यतिबेला पार्टी परित्यागको लर्को नै लागेको छ। लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहेका नेता–कार्यकर्ताहरूले एकपछि अर्को गर्दै पार्टी छाडेपछि जिल्ला तहमा नेतृत्व संकट चुलिएको छ। यसको मुख्य जिम्मेवारी केन्द्रिय सदस्य एवं पर्सा निर्वाचन संयोजक प्रभु हजारा र जिल्ला अध्यक्ष विश्वम्भर शर्मामाथि रहेको भन्दै असन्तुष्ट पक्ष खुलेरै आलोचनामा उत्रिएको छ।
एमाले महाधिवेशन प्रतिनिधि बश्रुदिन अन्सारीले पनि एमाले परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
पार्टी स्रोतका अनुसार पूर्व मधेस प्रदेश कमिटी सदस्य संजिव मिश्रा नेतृत्व परिवर्तनलगत्तै एमाले परित्याग गरी आगामी राजनीतिक योजना तय गर्ने तयारीमा छन्। पकाहाँ मैनपुर गाउँपालिका–५ का वडा कमिटी अध्यक्ष रामबाबु चौसरीया सहित सम्पूर्ण वडा कमिटी नै एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
त्यस्तै, एमालेबाट वीरगञ्ज महानगर–२० का वडा अध्यक्ष निर्वाचित रामकिशोर सिंह ‘पराग’ ले पार्टी परित्याग गरी उज्यालो नेपाल बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। पूर्व मधेस प्रदेश कमिटी सदस्य एवं महाधिवेशन प्रतिनिधि रञ्जु फुयालले एमाले त्याग्दै नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।
यसैगरी पकाहाँमैनपुर गाउँपालिका कमिटी सदस्य मदन सोनी, जगरनाथपुर गाउँपालिका कमिटी सचिव मनोज केवट, मधेश प्रदेश कमिटी सदस्य रामबाबु सिंह तथा पोखरीया नगर कमिटी सदस्य सन्तोष चौहानले पनि एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन्।
एमालेका युवा नेता देव शराफ, जिल्ला कमिटी सचिवालय सदस्य इमरान हुसैन, वीरगञ्ज महानगर–२३ वडा कमिटी सचिव रियाज अन्सारी लगायत दर्जनौँ युवाहरूले पनि अन्य दल रोजेपछि संगठन कमजोर बन्दै गएको चर्चा छ।
पार्टी परित्याग गर्ने अधिकांश नेताहरूले एउटै आरोप दोहोर्याएका छन्—पर्सामा एमालेले सक्षम नेतृत्व र योग्य उम्मेदवार दिन नसकेको। उनीहरूका अनुसार केन्द्रिय सदस्य प्रभु हजारा र जिल्ला अध्यक्ष विश्वम्भर शर्माले गुटगत राजनीति, एकलौटी निर्णय र कार्यकर्ताको भावना बेवास्ता गर्दा संगठन धराशायी हुने स्थितिमा पुगेको हो।
स्थानीय कार्यकर्ताहरू भन्छन्, “नेतृत्वले आफ्नै घेराभित्र सीमित रहेर टिकट वितरण र संगठन सञ्चालन गर्दा इमानदार कार्यकर्ता उपेक्षित भए। परिणामस्वरूप एमाले पर्सामा कमजोर बन्दै गएको छ।”
लगातारको परित्यागले पर्सामा एमालेको चुनावी अवस्था झन् जटिल बन्दै गएको विश्लेषण गरिएको छ। नेतृत्वप्रति बढ्दो असन्तोषले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिएको छ।