काठमाडौं । नेपाली टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीका लागि टी-२० विश्वकप २०२६ निकै यादगार बनेको छ । भारतको मुम्बइस्थित वाङ्खेडे मैदानमा उनको ब्याट राम्रैसित चम्कियो ।
विश्वकपको समूह चरण सकिँदा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा नवौैं नम्बरमा थिए ऐरी । उनले प्रतियोगितामा ५६.६६ रनको औसतमा ब्याटिङ गर्दै दुई अर्धसतकसहित १६९ रन जोडे । ४ खेलमा १४४.१४ को स्ट्राइक रेट कायम राखेका उनले ७ छक्का र १३ चौका प्रहार गरेका छन् । तर, यो आँकडाले मात्रै उनको प्रदर्शनलाई न्याय गर्दैन । दीपेन्द्रले कस्तो बेला रन बनाए र कस्ता सटहरु खेले भन्ने पनि महत्वपूर्ण छ ।
ईंग्ल्यान्डविरुद्धको पहिलो म्याचबाटै दीपेन्द्रले विश्व क्रिकेटको ध्यानाकर्षण गर्न सफल भएका थिए । उक्त म्याचमा नेपाल १८५ रनको बलियो लक्ष्य पछ्याइरहेको थियो । बलियो टेस्ट राष्ट्रसामू नेपालले सहजै हार स्वीकार गरेन। कुशल भुर्तेलले केही आकर्षक सटहरु प्रहार गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ५.२ ओभरमा ४२ रन बनाउँदा नेपालका दुवै ओपनर आउट भएपछि क्रिजमा आएका थिए दीपेन्द्र । उनले कप्तान रोहित पौडेलसँग मिलेर मजबुत साझेदारी गर्दै ईंग्ल्यान्डको मुटुमा ढ्याङ्ग्रो ठोकिदिए ।
२९ बलमा ४४ रन बनाएका दीपेन्द्रले आफ्नो इनिङमा केही जादुमयी सटहरु प्रहार गरेका थिए । त्यसमध्ये ईंग्ल्यान्डका प्रमुख स्पिनर आदिल रसिदलाई ‘स्वीच हिट’ मा हानेको छक्का नेपाली क्रिकेट प्रेमीले लामो समय सम्झिनेछन्। उक्त म्याचमा दिपेन्द्रले दुई छक्का र दुई चौका हानेका थिए । १४.२ ओभरमा नेपालले १२४ रन जोड्दा दीपेन्द्र आउट भए र ईंग्ल्यान्डले राहतको सास फेर्यो । यद्यपि, नेपालले अन्तिम ओभरसम्मै ईंग्ल्यान्डलाई दबाबमा राखेको थियो ।
दोस्रो म्याचमा इटलीविरुद्ध नेपालले अनपेक्षितरुपमा खराब प्रदर्शन गर्यो । कमजोर आँकिएको इटलीले नेपाललाई बलिङ र ब्याटिङ दुवैमा मात दियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १२३ रनमै अलआउट भएको थियो । १२४ रनको झिनो लक्ष्य इटलीले कुनै पनि विकेट नगुमाइकन भेट्टायो र नेपाललाई लज्जास्पद हार चखायो । यो म्याचमा दीपेन्द्र पनि चल्न सकेनन् । यद्यपि, उनले स्टार्ट भने पाएका थिए। १८ बलमा १७ रन बनाएका दिपेन्द्र श्रीलंकन मुलका बलर क्रिसन कुलुगामागेबाट बोल्ड भए । अघिल्लो म्याचमा अदिल रसिदलाई नाजवाफ बनाएका दीपेन्द्र ईटलीका स्पिनरसँग नाजवाफ बने ।
त्यसपछिका दुई म्याचमा दीपेन्द्रले पनि आफ्नो उत्कृष्टताको प्रदर्शन गर्दै दुई अर्धसतकीय इनिङ खेले । वेस्ट इन्डिजविरुद्ध ब्याटिङ फ्लप हुँदा दीपेन्द्रको इनिङले नेपालको इज्जत जोगाएको थियो । एक समय नेपाल ४६ रनमा ५ विकेट गुमाएर नाजुक स्थितिमा रहेको थियो । दीपेन्द्रले लोकेश बम, गुल्शन झा र सोमपाल कामीसित साझेदारी गर्दै नेपाललाई १३३ रनसम्म पुर्याएका थिए । सोमपालले १५ बलमा २७ रन बनाउँदै नेपालको इनिङलाई राहत दिए । दीपेन्द्र ४७ बलमा ३ छक्का र ३ चौकासहित ५८ रन हानेर आउट भएका थिए । यद्यपि, १३४ रनको स्कोरले वेस्ट इन्डिजलाई कुनै चुनौति दिन सकेन । ९ विकेटले वेस्ट इन्डिज विजयी भयो ।
दुई म्याचमा लगातार कमजोर प्रदर्शनपछि नेपाली टीमको क्षमतामाथि प्रश्न उठ्न थाल्यो । यद्यपि, दीपेन्द्रको इनिङलाई क्रिकेट विज्ञहरुले खुलेर प्रशंसा गरे । त्यसपछि स्कटल्यान्डविरुद्धको म्याचमा नेपाल फेरि आफ्नो वास्तविक क्षमतामा फर्कियो, र नेतृत्व दिपेन्द्रले नै गरे ।
यो म्याचमा नेपालले टस जितेर पहिले फिल्डिङ रोज्यो । स्कटल्यान्डले ७ विकेट क्षतिमा १७० रनको सुदृढ स्कोर खडा गर्यो । नेपालले चार बल बाँकी छँदा १७१ रनको लक्ष्य भेट्यो । यो म्याचमा ऐरीले अप्ठेरो स्थितिबाट नेपाललाई उकास्दै म्याचविनिङ पारी खेले । उनले २३ बलमा विष्फोटक अर्धसतक प्रहार गर्दै नेपाललाई जितसम्म डोहोर्याएका थिए । यस क्रममा तीन छक्का र चार चौका प्रहार गरे ।
विश्वकपको अघिल्लो संस्करणमा ऐन मौकामा चुकेका थिए ऐरी । त्यसबखत टेस्ट राष्ट्र बंगलादेशविरुद्ध यादगार जित दिलाउने मौका उनीसँग थियो । नेपाललाई अन्तिम दुई ओभरमा जितका लागि २२ रन चाहिएको थियो । तर, १९ औं ओभरमा दीपेन्द्रले एक रन पनि लिन सकेनन् । मुस्तफिजुर रहमानले फालेको ५ बलमा लगातार विट भएका उनी छैटौ बलमा आउट हुन पुगेका थिए । यो प्रदर्शनपछि उनले नेपाली समर्थकहरुबाट तिखो आलोचना भोग्नु परेको थियो ।
यस विश्वकपमा दिपेन्द्रले बलिङतर्फ भने औसत प्रदर्शन गरे । ईंग्ल्यान्डविरुद्धकाचे म्याचमा दुई विकेट लिएका उनले त्यसपछि भने विकेट लिन सकेनन् । यद्यपि, उनको बलिङ तुलनात्मकरुपमा किफायती रह्यो । विश्वकपको प्रदर्शनपछि दिपेन्द्र अलराउन्डरहरुको विश्व वरियतामा दुई स्थानमाथि उक्लेर चौंथो नम्बरमा पुगेका छन् ।
विश्वकपमा दीपेन्द्रले गरेको प्रदर्शनको अन्तर्राष्ट्रिय क्रिकेट पण्डितहरुले उच्च प्रशंसा गरेका छन् । भारतीय स्पिनर रविचन्द्र आश्विनले पटक पटक उनको प्रशंसामा शब्द खर्चिए । भारतकै पूर्वक्रिकेटर संजय बंगारले आफू दीपेन्द्रको फ्यान बनेको बताए ।
आरसीबीको कोचसमेत रहिसकेका उनले एक अन्तरवार्तामा भनेका छन्, ‘साँच्चैभन्दा म दीपेन्द्रको फ्यान भइसकेको छु। उनले स्कटल्याण्डसँग मात्र होइन इंग्ल्याण्डविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गरेका थिए। त्यस खेलमा उनले अनुभवी बलर आदिल रसिदको बलमा चारैतिर शानदार सट खेले। उनी ब्याटिङ गर्दा निकै शान्त देखिन्छन्। दीपेन्द्रजस्ता खेलाडीको टी-२० क्रिकेटमा ठूलो माग छ।’
भारतीय कमेन्टेटर मिखाइल बास्वानीले त दिपेन्द्रलाई पुस्तामा एकपटक जन्मिने क्रिकेटरको संज्ञासमेत दिए । उनले दीपेन्द्रलाई चाँडै आइपीएलमा देख्न सकिने ठोकुवासमेत गरेका छन् ।
मिखाइल भन्छन्, ‘मेरा शब्दहरू याद राख्नुहोस्, दीपेन्द्र चाँडै नै आईपीएल खेलिरहेको देखिनेछन्।’
नेपालले विश्वकप खेल्दै गर्दा दीपेन्द्र पाकिस्तानको फ्रेन्चाइजी लिग पीएसएलमा विक्री भएको गुड न्यूज आएको थियो । विश्वकपको प्रदर्शनपछि अब विश्वका ठूला फ्रेन्चाइजी लिगहरुमा उनको डिमान्ड हुने आशा गरिएको छ ।