रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ स्थित सबगढा टोलमा भएको साम्प्रदायिक विवाद उग्र बनेपछि जनधनको क्षति रोक्न जारी गरिएको कर्फ्युका बीच जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले शान्तिपूर्ण वातावरण कायम गर्न सार्वजनिक अपिल जारी गर्ने, दोषीमाथि कानुनी कारबाही अघि बढाउने तथा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। बैठकले घटनाप्रति खेद प्रकट गर्दै सबै पक्षलाई संयमित भई सामाजिक–धार्मिक सद्भाव कायम गर्न आग्रह गरेको छ।
बैठकले जिल्लाभर धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव सुदृढ गर्न सोमबार बिहान ७:३० बजे सबगढामा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने र उक्साहट गर्ने गतिविधिमाथि कडा निगरानी र आवश्यक कारबाही गर्ने निर्णयसमेत गरिएको छ।
जिल्ला प्रशासनले सबै नागरिकलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र शान्ति कायम गर्न सहयोग गर्न अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा सम्पन्न बैठकमा परोहा, गौर र राजपुर नगरपालिकाका प्रमुखहरू, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।
बैठकले जिल्लामा उत्पन्न परिस्थितिप्रति सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै प्रशासन र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न आह्वान गरेको छ।
सबगढा टोलमा बिहीबार राति एक विवाहको जन्ती बाजा बजाउँदै जाँदा मस्जिद अगाडि बाजा बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा दुवै समुदायबीच ढुंगामुढा हुँदा दर्जनौँ व्यक्ति घाइते भएका थिए। स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो १ बजेदेखि गौर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।
कडा सुरक्षा व्यवस्था
घटनापछि गौर र आसपासका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति परिचालन गरिएको छ। भारत–नेपाल सीमामा समेत कडाइ गर्दै आवागमनमा नियन्त्रण गरिएको छ। सीमामा परिचय खुल्ने कागजात अनिवार्य गरिएको प्रशासनले जनाएको छ।
शनिबार भएको झडप नियन्त्रणका क्रममा प्रहरीले लाठीचार्ज, हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो। झडपमा ६ जना घाइते भएका छन् भने केही सवारीसाधनमा आगजनी र तोडफोड भएको छ।
२३ जना नियन्त्रणमा
साम्प्रदायिक सद्भाव बिगार्ने आरोपमा जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदसहित २३ जनालाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ। जमसैदसँग सोधपुछ भइरहेको र प्रमाणका आधारमा थप कारबाही अघि बढाइने बताइएको छ।
यसै क्रममा गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साहलाई पनि नियन्त्रणमा लिइएको छ।