वीरगञ्ज । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा ले वीरगञ्ज महानगरपालिका क्षेत्रका चार किल्लाभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहान ९ :४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जनाएका हुन ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार तोकिएको सीमाभित्र कसैले पनि आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने उल्लेख गरिएको छ।
कर्फ्यु लागू गरिएको क्षेत्र (चार किल्ला): पूर्व: बाइपास रोड , पश्चिम: सिर्सिया नदी , उत्तर: गण्डक चौक , दक्षिण: शंकराचार्य गेट प्रशासनले कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन—एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पूर्व निर्धारित परीक्षाका परीक्षार्थी तथा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रु—लाई सुरक्षा निकायको सहजीकरणमा आवतजावत गर्न अनुमति दिइने स्पष्ट पारेको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।