वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार हरी पन्त थप विवादमा तानिएका छन्। निर्वाचन आचारसंहिता र परिपत्रप्रति बेवास्ता गरेको आरोपसँगै सहकारी प्रकरणको नैतिक छायाँ र स्पष्ट एजेन्डाको अभावका कारण उनको चुनावी अभियान आलोचनाको घेरामा परेको छ।
हालै निर्वाचन आयोग, नेपाल ले चुनावी प्रचारप्रसारका क्रममा भौतिक रूपमा चुनाव चिन्ह प्रयोग गर्दा तोकिएको मापदण्ड पालना गर्न निर्देशन दिएको थियो। तर, सो निर्देशनको अवज्ञा गर्दै पन्तले वीरगञ्जको रेलवे रोड हुँदै कुम्हाल टोलसम्म घरदैलो अभियानका क्रममा भौतिक रूपमा “घण्टी” बजाउँदै खुला प्रचार गरेको आरोप लागेको छ। स्थानीयका अनुसार उनले सार्वजनिक रूपमा चुनाव चिन्ह प्रदर्शन गरी घरदैलो गरेका थिए, जसलाई आयोगको परिपत्रको ठाडो उल्लंघनका रूपमा हेरिएको छ। यस घटनाले पन्तको कानुनी प्रतिबद्धता र निर्वाचन प्रक्रियाप्रतिको सम्मानमाथि गम्भीर प्रश्न उठाएको छ।
यसैबीच, पन्तमाथि आफ्नै पार्टीको स्पष्ट नीति–एजेन्डाभन्दा बाह्य लोकप्रिय व्यक्तित्वको सहारा लिएर मत मागेको आरोप पनि लागिरहेको छ। विशेषगरी बालेन्द्र शाह (बालेन) को नाम र तस्बिर प्रचारमा जोडतोडका साथ प्रयोग गरिएको विषयलाई मतदाता प्रभावित पार्ने रणनीतिका रूपमा विपक्षीहरूले टिप्पणी गरेका छन्। स्थानीय मुद्दा र ठोस कार्यक्रम प्रस्तुत गर्न नसकी बाह्य छविमा निर्भर हुनु राजनीतिक
अपरिपक्वताको संकेत भएको उनीहरूको दाबी छ।
त्यसमाथि, वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको बचत रकम हिनामिनासम्बन्धी प्रकरणले चुनावी माहोल थप तातेको छ। सो प्रकरणसँग सम्बन्धित सन्दर्भमा पार्टी सभापति रवि लामिछाने को नाम जोडिएपछि त्यसको नैतिक प्रभाव उम्मेदवार पन्तसम्म पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन्। पार्टी नेतृत्वमाथि उठेका गम्भीर आरोपको स्पष्ट र पारदर्शी जवाफ नआएको अवस्थामा उम्मेदवारले नैतिक आधारमा मत माग्नु कति उपयुक्त हुन्छ भन्ने प्रश्न मतदाताबीच उठ्न थालेको छ।
स्थानीय मतदाताहरूका अनुसार आर्थिक अनियमितता, कानुनी निर्देशनको अवज्ञा र स्पष्ट विकास–एजेन्डाको अभावजस्ता विषयले पन्तप्रति विश्वास घट्दो छ। केही मतदाताले विवादित छविसँग जोडिएको दललाई मत नदिने सार्वजनिक अभिव्यक्ति समेत दिएका छन्।
निर्वाचन नजिकिँदै जाँदा पन्तले उठेका आरोपहरूको जवाफ कसरी दिन्छन्, आयोगको परिपत्र
उल्लंघनसम्बन्धी विषयमा के स्पष्टीकरण दिन्छन् र सहकारी प्रकरणको नैतिक छायाँबाट आफूलाई कसरी अलग राख्छन् भन्ने प्रश्न पेचिलो बनेको छ। अन्यथा, आयोगको निर्देशनको अवज्ञादेखि सहकारी काण्डसम्म जोडिएका विवादहरूले पर्सा–१ मा उनको चुनावी यात्रालाई गम्भीर धक्का पुर्याउने संकेत देखिएको छ।