महोत्तरी । पछिल्ला दिनमा विभिन्न दलका शीर्ष नेताहरूको आगमनले महोत्तरीमा चुनावी माहोल तातेको छ। बुधबार एकै दिन जिल्लाका विभिन्न स्थानमा प्रमुख दलका शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गरेका छन्। महोत्तरी निर्वाचन क्षेत्र नं. १ को बर्दिवासमा रवि लामिछाने र हर्क साम्पाङ ले चुनावी सभालाई सम्बोधन गर्नुभयो।
त्यस्तै, विश्वप्रकाश शर्मा ले निर्वाचन क्षेत्र नं. ४ को सम्सी र क्षेत्र नं. ३ को जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभयो।यसैगरी उपेन्द्र यादव तथा महन्थ ठाकुर ले निर्वाचन क्षेत्र नं. २ को बलवा नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार र कार्यकर्ताको मनोबल बढाउन शीर्ष नेताहरू महोत्तरीका विभिन्न क्षेत्रमा सक्रिय रूपमा पुगेका हुन्। बुधबार मात्र जिल्लाका अलग–अलग स्थानमा शीर्ष नेताहरूको उपस्थितिले चुनावी गतिविधि झन् तीव्र बनेको छ। उम्मेदवार तथा स्थानीय नेताहरू शीर्ष नेताहरूको कार्यक्रमपछि मतदातासँग पुनः घरदैलो अभियानमा जुटेका छन्।
सङ्घीयता र विभेद अन्त्यका लागि जसपा आवश्यक : उपेन्द्र यादव
बलवा नगरपालिकास्थित परौलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र अधिकार संरक्षणका लागि आफ्नो पार्टीको विकल्प नभएको बताउनुभयो। सङ्घीय व्यवस्था स्थापना गर्न लामो संघर्ष भएको उल्लेख गर्दै उहाँले यसलाई जोगाउन जनता समाजवादी पार्टी सधैँ प्रतिबद्ध रहने बताउनुभयो। विभेद र अन्यायविरुद्ध आवाज उठाउने पार्टी पनि जसपा नै भएको उहाँले दाबी गर्नुभयो।
देशलाई सही दिशा दिन कांग्रेस सक्षम : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र नेतृत्व पुस्तान्तरण भइसकेकाले अब कांग्रेस विकास, सुशासन र आर्थिक समृद्धितर्फ केन्द्रित हुने बताउनुभयो। महोत्तरी निर्वाचन क्षेत्र नं. ४ को सम्सी बजारमा आयोजित कार्यक्रममा उहाँले देशमा उत्पन्न हुने समस्यालाई सही दिशा दिन नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
मधेश अझै विभेदमा : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बर्दिवासमा आयोजित कार्यक्रममा मधेश क्षेत्र अझै पनि विभेदमा परेको बताउनुभयो। राज्यले विभिन्न बहानामा मधेशमाथि विभेद गर्दै आएको उल्लेख गर्दै उहाँले स्थिरता, शान्ति र सुरक्षा कायम नभएसम्म विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।
सुशासन स्थापना गर्ने प्रतिबद्धता : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सुशासन कायम गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। बर्दिवासमा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार बढेको र नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा पुगेपछि यस्ता समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।