सर्लाही । बाँके, फूलजोर र लखन्देहीखोलामा पुल नहुँदा बर्सौंदेखि सास्ती खेप्न बाध्य सर्लाहीका एक दर्जनभन्दा बढी पालिकाका बासिन्दाले चुनाव नजिकिएसँगै सडक र पुलका लागि पहल गर्ने उम्मेदवारलाई मत दिने बताएका छन् । महोत्तरी, सर्लाही र सिन्धुलीको चुरे भेगदेखि बगेर आउने यी तीन खोलाका दर्जनौँ ठाउँमा वारपार गर्ने सडक भए पनि पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको हो । चुरे भेगदेखि दक्षिण भारतीय सीमासम्म नै बग्ने बाँके, फूलजोर र लखन्देहीखोलामा पूर्वपश्चिम राजमार्ग र हुलाकी सडकबाहेक अन्यत्र पुल निर्माण हुन सकेको छैन ।
वर्षायाममा बाढी आउँदा खोलामा पुलको अभावमा आउजाउ नै ठप्प हुने गरेको छ । अहिले हिउँदयाममा खोलामा पानी नहुँदासमेत बालुवा र ढुङ्गाका कारण मुस्किलसँग सवारीसाधन वारपार गरिरहेका छन् । यी तीन वटै खोलामा पुल नहुँदा चुरेवर्ती क्षेत्रमा अझ बढी समस्या रहेको छ । महोत्तरीको बर्दीबास नगरपालिका–११ देखि सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन हुँदै बागमतीसम्म पुग्ने गरी चुरेको फेदी नै फेदी सडक भए पनि खोलामा पुल रहेका छैनन् । भर्खरै लालबन्दी नगरपालिका–१६ स्थित परवानीपुरमा पर्ने कालिन्जोरखोलामा पुल बनेको छ । अन्य ठाउँमा भने खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।
लालबन्दी नगरपालिका–१५, देउरालीका शङ्कर केसीले चुनावमा मत माग्न आउने उम्मेदवारलाई खोलाको अवस्थाबारे जानकारी गराउने र पुल निर्माण गर्न ध्यानाकर्षण गराउने काम गरिरहेको बताउनुभयो । उहाँले यसअघिका उम्मेदवारले पनि पुल, पुलेसाको प्रतिबद्धता जनाए पनि काम नगरेको गुनासो गर्नुभएको छ ।
महोत्तरीको बर्दीबास नगरपालिका–११, खयरमारा र सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरलाई जोड्ने गरी पुल निर्माण गरिदिन माग गर्दै ईश्वरपुर नगरपालिकाले तीन वर्षअघि सडक विभागसँग बजेट माग गरेको थियो । सङ्घीय बजेटबिना यहाँ पुल निर्माणको सम्भावना नै नरहेको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् । स्थानीय बासिन्दाको जनजीविकासँग जोडिएको चुरेफेदीको रणनीतिक सडक निर्माणका लागि बारम्बार आवाज उठे पनि उचित सुनुवाइ हुन सकेको छैन । सर्लाही–१ का उम्मेदवार शम्भुलाल श्रेष्ठ, मनोजकुमार देवकोटा, प्रमोदकुमार साहलगायतले सडक निर्माण अन्तर्गत लालबन्दी–मरिण सडकसहितलाई प्राथमिकता दिने घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।
चुरेफेदीमा पुल निर्माण नभए पनि पालिका र प्रदेश सरकार मिलेर सडक भने लगभग कालोपत्रे गरिसकेका छन् । बाँके, फूलजोर र लखन्देहीखोलामा पुल नहुँदा पूर्वपश्चिम राजमार्गदेखि दक्षिणी भेगमा पनि समस्या नै छ । वर्षायाममा त स्थानीय बासिन्दा बाढी तरेर जान नसक्दा पूर्वपश्चिम राजमार्गमा निस्किएर वारपार गर्ने गरेका छन् । हरिपुर नगरपालिका–१, हजारबिघाका वडाध्यक्ष नानीबाबु थापाले मुलुकका शीर्ष नेता चुनाव लड्न आएकाले लखन्देखीखोलामा पुल निर्माणको पहल गरिदिन ध्यानाकर्षण गराइएको बताउनुभएको छ ।